पार्टीको निर्देशन विपरीत जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिने भएका छन्।
पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका थिए।
उक्त पत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लिने विश्वासको मतको विपक्षमा मत दिन निर्देशन दिइएको थियो। तर लुम्बिनी प्रदेशका सांसदहरूले भने पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री आचार्यको पक्षमा विश्वासको मत दिने भएका हुन्।
जसपा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयले सरकारलाई दिएको समर्थन पनि फिर्ता नगर्ने र मुख्यमन्त्री चेतनारायण आचार्यको पक्षमा विश्वासको मत दिने बताए।
लुम्बिनी प्रदेशसभामा जसपाका पाँच जना सदस्य छन्। सन्तोष कुमार पाण्डेय दलको नेता छन् भने हेमा वेल्वासे केसी, अम्बिका काफ्ले, आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर सदस्य छन्। काफ्ले काम विशेषले काठमाडौँमा रहेकी छन् भने अरू चार जनाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने नेता पाण्डेले बताए।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सांसद छन् । तीमध्ये एमालेका २९ र नेकपाका सभामुखसहित १३ जना सांसद छन्। सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
लुम्बिनीमा एक जना सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गर्ने जनाएको छ।
अहिले एमाले र नेकपाका संयुक्त बैठक बसिरहेको छ। बैठकमा जसपाका आदेश अग्रवाल र भण्डारीलाल अहिर पनि सहभागी रहेका छन्।
सन्तोष कुमार पाण्डेय र हेमा बेल्बासेले समर्थन दिने बताएका छन्।