सरकारले तिब्बततर्फ माथिल्लो क्षेत्रमा पानीको बहाव बढेको भए पनि तत्कालै ठूलो जोखिम देखिएको अवस्था नरहेको जनाएको छ।
यद्यपि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा लेदोसहित पानीको बहाव पुनः बढेकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले माथिल्लो क्षेत्रमा पानीको बहाव बढेको सूचना आए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन्।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा लेदोसहित पानीको बहाव केही बढेको र थप बाढी आउन सक्ने जोखिम रहेको सूचना प्राप्त भएको बताए।
'आँत्तिनुपर्ने अवस्था छैन। तर सतर्क रहन सबैलाई आग्रह गर्न चाहन्छौं,' मन्त्री पोखरेलले भने।
उनले भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान पनि उनले अनुरोध गरेका छन्।
मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ सरकारसँग निरन्तर संवाद भइरहेको छ। चिनियाँ पक्षबाट पनि हाल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको उनले बताए।
'परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ। संवादमा अहिले त्यस्तो ठूलो जोखिम केही नरहेको भन्ने चीनतर्फबाट पनि आइरहेको छ,' उनले भने, 'तर सतर्कमा बस्न चाहिँ सबैलाई आग्रह गरेका छौं।'
तिब्बततर्फ ड्याम फुटेको भन्ने सूचना सही नभएको पनि मन्त्री पोखरेलले स्पष्ट पारे।
उनका अनुसार कतिपय स्थानमा ग्लेसियर फुटेको र पानी ओभरफ्लो भएका कारण लेदोसहितको पानी तलतर्फ आएको हो।
'ड्याम फुटेको भन्ने छैन। ग्ल्यासियरहरू कतै-कतै फुटेको र धेरै ठाउँमा ओभरफ्लो भएका कारण लेदोसहितको ओभरफ्लो ठाउँ-ठाउँमा भएको छ,' उनले भने, 'ठूलो जोखिम तत्काल देखिएको छैन। सतर्कमा रहन चाहिँ जरूरी छ।'
यसअघि रसुवाको भोटेकोशी क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेपछि नेपालले चिनियाँ पक्षसँग पछिल्लो अवस्थाबारे जानकारी मागेको थियो।
त्यसक्रममा चिनियाँ पक्षले माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल स्थिर रहेको र तत्काल ताल फुटेर ठूलो बाढी आउने जोखिम नरहेको जानकारी दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको थियो।
चिनियाँ पक्षका अनुसार पानीको बहाव भने बढिरहेको छ।
यसअघि हिमपहिरोका कारण नदी थुनिएर ताल बनेको माथिल्लो क्षेत्र हाल स्थिर देखिएको र तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको भए पनि ठूलो विष्फोट वा ताल फुटेको अवस्था नरहेको जानकारी दिइएको थियो।
चिनियाँ पक्षले थप जानकारी प्राप्त हुनासाथ नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:३१ बजे भोटेकोशीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेसीसम्म आइपुगेको सूचना जारी गरेको थियो।
महाशाखाले भोटेकोशीको बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै मुग्लिनसम्मको तटीय क्षेत्रमा अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि शुक्रबार सूचना जारी गर्दै भदौ १० गते भीषण बाढी आएको क्षेत्रमै पुनः लेदोसहित पानीको बहाव केही बढेको जानकारी प्राप्त भएको जनाएको छ। माथिल्लो क्षेत्रमा लेदो बढेकाले थप बाढी आउन सक्ने जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार र आसपासका सम्भावित जोखिम क्षेत्रमा रहेका मानिसलाई खतराको अलिकति पनि संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ जान पनि प्राधिकरणले अनुरोध गरेको छ।
यसअघि नेपाल प्रहरीले तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना प्राप्त भएको भन्दै भोटेकोशी तथा तटीय क्षेत्रमा रहेका सर्वसाधारण, सुरक्षाकर्मी र उद्धारकर्मीलाई सतर्क रहन आग्रह गरेको थियो। तर त्यसपछि चिनियाँ पक्षसँग भएको सम्पर्कमा ड्याम फुटेको नभई ग्लेसियर तथा माथिल्लो क्षेत्रमा पानी ओभरफ्लो भएको अवस्था रहेको जानकारी आएको हो।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले पनि सेनाले हेलिकप्टरमार्फत भोटेकोशीको माथिल्लो क्षेत्रको रेकी गरेको बताएका छन्।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला प्रभावित भएका छन्।