सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको जानकारी दिएको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका हुन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोली उद्धार कार्यमा पूर्ण रूपमा परिचालित रहेको जानकारी दिए।
‘पहिलो चरणमा उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गरेर नागरिकको ज्यान जोगाउनु हाम्रो प्राथमिकता हो । स्वयंसेवकहरूको परिचालनलाई पनि थप व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने।
अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकहरूसँग समन्वय भइरहेको र राहत सामग्री ल्याउने विषयमा छलफल जारी रहेको पनि मन्त्री पोखरेलले बताए।
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गरिने सरकारको तयारी रहेको उनको भनाइ छ।
सरकारले विपद्का समयमा आधिकारिक सूचना मात्र ग्रहण गर्न नागरिकलाई अपिल गरेको छ ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबपेज र विपद् व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारीलाई मात्र आधार मान्न मन्त्री पोखरेलले आग्रह गरे।
राहत संकलनका लागि सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष’ लाई सक्रिय बनाएको छ। देश तथा विदेशमा रहेका इच्छुक व्यक्ति वा संस्थालाई आधिकारिक माध्यम र क्युआर कोड पहिचान गरेर मात्र उक्त कोषमा रकम जम्मा गर्न आग्रह गरिएको छ।
मन्त्री पोखरेलकाअनुसार अर्थ मन्त्रालयले राहत कोषको विवरण र संकलित रकमका बारेमा छिट्टै थप स्पष्ट जानकारी सार्वजनिक गर्नेछ ।–न्युज एजेन्सी नेपाल