लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए।
यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपदमा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ।
रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।
कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोगका कार्यमा सक्रिय सहभागिता जनाउन मुख्यमन्त्री आचार्यले अपिल गरेका छन्।
प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको छ।