८ दिन अघि लाङटाङ-लिरूङ हिमालको उत्तरी पाखोमा हिम पहिरो गएपछि आएको भीषण बाढी आउँदै छ भनेर बेलैमा खबर गर्न नसकेकाले पनि ठूलो धनजनको क्षति भइरहेको चर्चा भइरहेका बेला सरकारले रसुवाको टिमुरेमा भिस्याट क्यामरा जडान गरेको छ।
बाढी पूर्वानुमान गर्न राखिएका जलमापन केन्द्रहरूले बाढीको सूचना टिप्न पनि नपाउँदै बगाएपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै खबर गर्न सकिएको थिएन।
त्यसपछि पनि भोटेकोशी र त्रिशूलीमा पानीको बहावको स्थितिबारे मानवीय स्रोतसँग मात्र भर पर्नुपरेको थियो। कि त चीन सरकारले पठाएका भूउपग्रहका विवरणहरू हेरेर काम चलाउनुपरेको थियो।
भिस्याट क्यामरा जडान गरेपछि भने भोटेकोशीको नियमित निगरानी सहज भएको बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिष्ट सरस्वती विष्टले बताइन्।
उनका अनुसार बाढी पूर्वानुमान महाशाखाले सोमबार नै टिमुरेमा भिस्याट क्यामरा जडान गरेर भोटेकोशीको निगरानी सुरू गरिएको हो।
‘हाम्रा जलमापन केन्द्रहरू बाढीले बगाएपछि त्यहाँको अवस्था हेर्नका लागि कुनै पनि साधन थिएन। कि चाइनाले पठाएका डेटाका आधारमा बाढीको सूचना दियौँ नभए त बाढी आएको भनेर उपल्लो क्षेत्रका मान्छेले पठाएका सूचनाको भर पर्नुपरेको थियो,’ उनले भनिन्, ‘मंगलबारदेखि त हामीले क्यामरा जडान गरेका छौँ। भिस्याट क्यामराले अनलाइन गरेका दृष्यहरू चौबीसै घण्टा यहाँ (सिंहदरबार) बसेर हेरिरहेका छौँ। अहिले बाढी आए /नआएको त्यही हेरेर थाहा हुन्छ।’
उनका अनुसार भोटेकोशीमा बाढी आए क्यामराले लिएका तस्बिरबाट थाहा हुने र तत्कालै मोबाइलमार्फत तल्लो तटका बासिन्दालाई खबर गर्न सकिने हुन्छ।
भदौ १० को बाढीले रसुवागढी, स्याफ्रुबेसी, बेत्रावतीमा रहेका जलमापन केन्द्र बाढीको सूचना संकलन गर्न नपाउँदै बगाएको थियो।
ती जलमापन केन्द्रलाई पुनर्स्थापना गर्ने अवस्था नभएकाले भिस्याट क्यामरा राखरेर निगरानी गर्ने निर्णय भएको विष्टले बताइन्।
‘जलमापन केन्द्र राख्नका लागि अलिक अध्ययन अनुसन्धान गर्नुपर्ने अनि खोलामा पनि कहाँ राख्ने भनेर यकिन गर्नुपर्ने हुन्छ। हाम्रो महाशाखामा छलफल हुँदा त्यो सबै काम गर्ने अवस्था अहिले नभएकोले बरू भिस्याट क्यामरा जडान गर्न सजिलो र उपयुक्त हुने भन्ने भयो,’ हाइड्रोलोजिष्ट विष्टले भनिन्।
बाढी आएको भोलि पल्टैदेखि चीन सरकारले परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई लाङटाङ लिरूङ क्षेत्रको भिस्याट, ड्रोन भ्यूले लिएका तस्बिर लगायतका डेटा पठाउँदै आएको छ। चीनले पठाएका दृष्य पहिरो गएको स्थान वरिपरिका छन्।
हिमपहिरो खसेको स्थानमा ताल बनेकाले बाढीको जोखिम रहेको भन्ने सूचना चीनले नै पठाएको थियो। पछि त्यो ताल घटेको सूचना पनि उसले नै दिएको थियो। आज पनि चीनले त्यो क्षेत्रको सूचना पठाएको विष्टले बताइन्।
‘आज पनि चीनले हामीलाई हिम पहिरो खसेको ठाउँमा बनेको तालबारे सूचना पठाएको छ,’ विष्टले भनिन्, ‘माथिल्लो क्षेत्रमा पहिरोका कारण बनेको ताल जोखिममा नरहेको र सामान्य अवस्थामा रहेको जानकारी गराएको छ। माटो बगिसकेको र पानी घटिसकेको छ। तालमा अझै केही पानी त बाँकी छ तर ठूलो बाढी आउने जोखिम नभएकाले डराउनुपर्ने अवस्था छैन।’