राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको जिम्मेवारी कार्बन उत्सर्जन बढी गर्ने देशहरूले लिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै झाले नेपालले कार्बन उत्सर्जनमा निकै कम योगदान गरे पनि बाढी, पहिरो लगायतका जलवायुजन्य विपद्को ठूलो क्षति व्यहोर्नुपरेको बताए।
उनले अब नेपालले राहत माग्ने होइन, जलवायु न्याय र क्षतिपूर्ति माग्ने बेला आएको बताए।
‘नेपालले समस्या सिर्जना गरेको होइन भने त्यसको मूल्य नेपालले किन चुकाउने?’ भन्दै उनले प्रश्न गरे।
झाका अनुसार नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारी साधनको प्रयोग र जलविद्युत् विकासमार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको छ।
नेपालको कार्बन उत्सर्जन १ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै उनले बढी उत्सर्जन गर्ने देशहरू नै क्षतिपूर्तिका लागि जिम्मेवार हुनुपर्ने बताए।
उनले जलवायु क्षतिपूर्तिको विषयमा सबै राजनीतिक दल एकजुट भएर अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने बताए।
सांसद झाले प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय फोरममा नेपालको जलवायु क्षतिको विषय जोडदार रूपमा उठाउनसमेत आग्रह गरेका छन्। –न्युज एजेन्सी नेपाल