प्रधानमन्त्री बालेन शाह दुई सातापछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने भएका छन्।
प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय भने भइसकेको छैन।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले राष्ट्रसंघीय महासभामा सहभागिता जनाउने निर्णय गरेको थियो। प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री खनाल पनि बैठकमा सहभागी हुनेछन्।
तर पछिल्लो समय भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीपछि जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले भोगिरहेको विपदको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री स्वयं न्यूयोर्क जान लागेका हुन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीले महासभालाई उपयोग गर्नुपर्ने सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूले दिइरहेका थिए।
प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका विपदका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बेला आएको बताएका थिए।
पहिलो विदेश भ्रमण
प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हुनेछ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभा भदौ २३ गते न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरू हुँदैछ। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरू हुनेछ।
प्रधानमन्त्री सहभागी हुने भए उनले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ।
भोटेकोशी–त्रिशूली बाढीलाई नेपालले पछिल्लो समय भोगेको गम्भीर जलवायुजन्य विपदका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारीसमेत भइरहेको छ।