नेपाली कांग्रेसका नेता नैनसिंह महरले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका छन्।
भोटेकोशी क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै उनले त्यहाँका जनताको जनजीवन झनै कष्टकर बन्दै गएकाले राहत तथा उद्धारमा सरकार थप गम्भीर बन्नुपर्ने बताएका हुन्।
'बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। कैयौँ परिवार विस्थापित भएका छन्। थुप्रै नागरिक अझै बेपत्ता छन्। बेपत्ताहरूका आफन्त आफ्ना मान्छे जिवितै फेला पर्छन् कि भन्ने आसामा अझैँ कुरि बसेका छन्। आज मात्रै दुई जनाको जिवितै उद्धार भएको छ। यसले थप आसा जगाएको छ। त्यसैले सरकारले उद्धारमा तिब्रता दिनुपर्छ,' उनले भने।
त्यसक्रममा पीडित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे महरले जानकारीसमेत लिएका थिए। उनले विपद्को यस कठिन घडीमा कांग्रेस सरकारको साथमा रहेको बताएका थिए।
'सरकारको प्रयास पर्याप्त नभएको गुनासो पीडितको छ। उहाँहरू मानसिक र शारीरिक रुपमा निकै विछिप्त हुनुभएको छ। राहत, उद्धारसँगै उहाँहरूलाई मानसिक मरामर्शको पनि ठूलो खाँचो छ,' महरले भने।
समाजका प्रायः सबै वर्ग र क्षेत्र सरकारसँग असन्तुष्ट देखिएको अवस्थामा जनताको दुःख र पीडालाई सम्बोधन गर्ने विषयमा सरकार थप संवेदनशील बन्न आवश्यक रहेको महरले औंल्याएका छन्।
'जनता संकटमा परेको बेला सरकार जनताको अभिभावक बनेर उभिनुपर्छ। राजनीतिक असहमति आफ्नो ठाउँमा होला तर विपद्को समयमा सबै राजनीतिक दल, नागरिक समाज र राज्यका संयन्त्र एक ठाउँमा उभिएर पीडितको जीवन बचाउने र पुनःस्थापना गर्ने काममा केन्द्रित हुनुपर्छ,' उनले भने।
महरले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास र आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
उनले बाढी प्रभावित नागरिकहरूलाई ‘तपाईंहरू एक्लै हुनुहुन्न, यो संकटमा राज्य, राजनीतिक दल र समाज सबै तपाईंहरूको साथमा छन्’ भन्ने विश्वास दिलाउनुपर्नेमा जोड दिए।
महरले विपद्पछि दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने बताए। प्रभावित क्षेत्रका सडक, पुल, विद्युत्, खानेपानी तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणसँगै प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापित गर्न विशेष कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।