नेपाली कांग्रेसमा पछिल्लो समय ‘देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका नेता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा उनले भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५ औं महाधिवेशन केही समय पछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने बताएका हुन्।
‘आज हजारौं नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ। यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ,’ उनले भने।
रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए।
महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दसैंपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने उनले बताए। यसले एकातर्फ विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनको भनाइ छ।
‘महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो। त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ,’ उनले भने।
महरले कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको बताए।