नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ १० को भोटेकोशी-त्रिशूली बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने अवस्था नरहेको बताएका छन्।
आज सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै सभापति थापाले १५ औं केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज १६ देखि नै सुरू हुने बताए। तर तल्ला तहका कार्यतालिका भने परिमार्जन हुन सक्ने उनको संकेत छ।
कांग्रेसले भदौ २४ गते वडा अधिवेशन गर्ने गरी यसअघि केन्द्रीय निर्वाचन समितिबाट कार्यतालिका जारी गरेको थियो।
‘हामीलाई वैधानिक बाध्यता छ, असोज १६ गते कांग्रेसको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरू हुन्छ, यो तिथिमिति तलमाथि गर्न सक्ने सुविधा छैन,’ सभापति थापाले भने, ‘विपद्को यो अवस्थामा रसुवा, नुवाकोट र धादिङमा केही असजिला छन्। तीन जिल्लामा नियमित वडा अधिवेशन गर्ने अवस्था मैले देखिनँ। म तल जाँदै गर्दा पनि त्यो सम्भावना देखिनँ।’
रामेछाप, गोरखालगायत जिल्लाका मानिस पनि परिवार र आफन्त खोज्न भोटेकोशीतर्फ गएको उनको भनाइ छ। वडा अधिवेशन कहिलेदेखि सुरू गर्ने भन्ने विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल गरी तल्ला तहका अधिवेशन कार्यतालिका ल्याइने उनले बताएका छन्।