नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुने बताएका छन्।
कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा आज नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।
विशेष महाधिवेशन र १४ औं महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनले बताए।
लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको बताए।
‘१४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्छ,’ उनले भने।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए।
‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौं, तर मिल्न सकिरहेको छैन,’ उनले भने। पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अहिले पनि पार्टी मिलाउने सम्भावना रहेको बताए।
‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।