राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टी महामन्त्रीसहित सबै जिम्मेवारी परित्याग गरेको उल्लेख गरेका हुन्।
उनी रविन्द्र मिश्रसँगै एकताका क्रममा राप्रपामा समाहित भएका थिए। गत फागुनको चुनावलगत्तै मिश्रले पनि राप्रपा परित्याग गरिसकेका छन्। यसअघि महामन्त्री धवलशम्शेर राणाले पनि पार्टी परित्याग गरेका थिए।
राप्रपा परित्याग गर्दै पाठकले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको उल्लेख गरेका छन्।
यस्तो छ विज्ञप्ति-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु।
राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिसँगै करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारीसहित एउटा समूहसँगै यस दलमा आबद्ध भएको थिएँ। उक्त सहमति नै राप्रपासँगको एकताको आधार थियो।
तर यो अवधिमा त्यस दिशामा ठोस परिणाममुखी काम नै हुन सकेन। पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रह्यो। “भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो” भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ।
पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो छ। जसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति छ। म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन। यसमा मेरा आफ्ना कमजोरीहरू पनि होलान्।
त्यति भन्दै राप्रपाको विभिन्न, खासगरी तल्ला तहहरूमा रहेका पार्टीका अनगिन्ति नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय र प्रेरणादायी छ। उहाँहरूप्रति म सदा नतमस्तक रहनेछु।
यस अवधिमा सहयोग, शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने तथा आलोचनात्मक दृष्टिकोण प्रदान गर्नुहुने सबै नेता, सदस्य र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
एक दशकको सक्रिय राजनीतिक यात्रा र त्यसअघि सक्रिय सञ्चारकर्ममा आर्जित अनुभव तथा विश्वासको पुँजीलाई अगाडिका दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप परिष्कृत रूपमा उच्च प्रतिबद्धतासहित समर्पित गर्नेछु।
सधन्यवाद, शरदराज पाठक