नेपाली कांग्रेसका सभापति गगन थापाले विज्ञ र अनुसन्धानकर्ताहरूसँग परामर्श गरी तयारीसाथ प्रधानमन्त्री संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुनुपर्ने बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री बालेन शाह महासभामा जाने विषयमा सञ्चार माध्यमहरूमा समाचार पढेको उल्लेख गर्दै उनले यो भ्रमण केवल औपचारिकतामा सीमित नगर्न आग्रह गरेका छन्।
नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने उनले बताए।
‘हामीले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ। नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ। यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन्। पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ,’ सभापति थापाले भने।
प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।