गृहमन्त्री सुधन गुरूङले पुराना दलहरूलाई सुध्रन आग्रह गरेका छन्।
जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आज काठमाडौंको बानेश्वरमा भएको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनलाई अपमान नगर्न पनि आग्रह गरे।
‘तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो,’ उनले भने, ‘तपाईंले यो आन्दोलन अपमान गर्नुहुन्छ भने तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको हो, यो कुरा स्मरण गर्नुस्। त्यसकारण सुध्रनुस्, अझै पनि समय छ।’
पुरानो सोचले नयाँ नेपाल बनाउन नसकिने पनि उनले बताए।
उनले जेनजी आन्दोलनको माग पूरा हुने पनि बताए।
‘सम्पूर्ण जेनजी पुस्तालाई के भन्न चाहन्छु भने, हाम्रो माग पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ, त्यो चाहिँ मेरो शिरबाट मात्र हुन्छ,’ उनले भने, ‘जबसम्म प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेले जेनजीको आशालाई मर्न दिनुहुन्न, सुशासन के हुन्छ भनेर विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म जगाइराख्नेछु।’
उनले अर्को गोली चले मात्र मन्त्री ढल्ने पनि बताए। ‘अर्को गोली चल्न यो देशमा कसैले हिम्मत गर्न सक्दैन,’ उनले भने।