नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस नवयुवाको आक्रोशबाट भएको घटना नभई लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको परिणाम भएको आरोप लगाएका छन्।
भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी र आक्रमणलाई ओलीले योजनाबद्ध विध्वंसको संज्ञा दिएका छन्।
'अझ प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि घटित यी समग्र घटनाक्रमले स्पष्ट पार्छ, भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन। त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील 'कोर्स' लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप थियो,' उनले भनेका छन्।
ओलीले भदौ २४ को घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्। शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने यथार्थ बाहिर ल्याउनुपर्ने उनको भनाइ छ।
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी ठहर गर्दै प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्ने र मुद्दा चलाउने प्रयास भएको आरोप लगाउँदै ओलीले घटनामा सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदनसमेत गुपचुप राखिएको बताएका छन्।
भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने र उनीहरुविरुद्ध सुरु भएका अनुसन्धान तथा अभियोजनका प्रक्रिया रोकिएको भन्दै उनले यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको’ आरोप लगाए।
सुरक्षा निकायले राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथिको आक्रमण रोक्न किन सकेनन् भन्ने प्रश्नसमेत ओलीले उठाएका छन्।
'नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ,' उनले भनेका छन्।
ओलीले अब हिंसा र अराजकतालाई कुनै पनि नाममा वैधता दिन नहुने बताएका छन्।
'राजनीतिको अपराधीकरण नरोकिने हो भने, राज्य दहन गर्नेहरुले उन्मुक्ति पाइरहने हो भने, दण्डहीनता अन्त्य नहुने हो भने देशले बारम्बार यस्तो पीडा भोग्नुपर्ने छ,' उनले भनेका छन्।
उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार गर्न नहुनेमा जोड दिएका छन्।
'लोकतन्त्रमा जुनसुकै समस्याको पनि शान्तिपूर्ण समाधान छ भन्ने सत्य स्थापित गर्नैपर्छ। र, सरकार परिवर्तनका लागि संवैधानिक बाटो बाहेक अन्य विकल्प मञ्जुर छैन भन्ने मान्यतालाई पुनर्युष्टि गर्नैपर्छ,' ओलीले भनेका छन्।
गत वर्षको घटनामा नवयुवाहरुको मूल सरोकार भने गलत नभएको ओलीले बताएका छन्। उनका अनुसार नवयुवाहरुको सरोकार र अपेक्षा असल भए पनि त्यसको लाभ अरु तत्वले उठाएका थिए।
'जेन्जी विद्रोहका नाममा जुन हिंसा र विध्वंश भयो, त्यसमा नवयुवाहरुको संलग्नता थिएन। तर अरु नै तत्वहरुले त्यसको लाभ लिए,' ओलीले भनेका छन्।
उनले अहिले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानमाथि चुनौती बढिरहेको दाबी गर्दै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरुलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन्।