सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले बाढी पीडितहरूलाई राखिएको होल्डिङ सेन्टरमा महिला र बालबालिकामाथि सुरक्षा जोखिम रहेको बताएकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक धितालले घरभित्रै सुरक्षित नहुने अवस्था रहेको महिला र बालबालिकाहरूलाई होल्डिङ सेन्टरमा सामूहिक रूपमा राख्दा सुरक्षा जोखिम अझै बढ्ने बताएकी हुन्।
उनले सरकारलाई यसमा संवेदनशील हुन आग्रह गरेकी छन्।
'आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतिपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्दा उनीहरूको अस्मिता र सुरक्षाको अवस्था कस्तो होला?,' उनले भनिन्, 'हामीले सकेको,जानेको गरेका छौं, तर केही नजानी उद्धारको नाममा हामीले थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?'
उनले संयुक्त राष्ट्रसंघको तथ्यांक प्रस्तुत गर्दै बाढीबाट नेपालमा करिब १ लाख ६० हजार महिला प्रभावित भएको बताइन्।
विपदमा महिला तथा बालिकाहरू असमान रूपमा बढी प्रभावित हुने, हिंसा र शोषणको जोखिमदेखि पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोझसम्म उनीहरुमा थोपरिने सचेतक धितालले बताइन्।
'त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन संवेदनशील हुनुपर्छ,' उनले भनिन्।
धितालले राहत कोषमा नागरिकको स्वतःस्फूर्त सहयोगबाट अर्बौं जम्मा भएको रकमबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्न पनि आग्रह गरेकी छन्।
'सकेसम्म परिवारलाई एकै ठाउँमा राखौँ र उद्धार तथा राहतसँगै सामाजिक पुनर्स्थापनाको कामलाई तीव्रता दिऔं,' उनले भनिन्।
उनले उद्धार र राहतपछि करिब ४ हजार नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको बताइन्।
'जसले घर, थातथलो, सम्पत्ति र प्रियजनसमेत गुमाएका छन्, बेपत्ता आफन्तको झझल्को लिएर बाँचिरहेका छन्, उनीहरूलाई भोलि कहाँ जाने, कसरी बाँच्ने भन्ने उत्तर पनि राज्यले दिनुपर्छ,' उनले भनिन्।
मरेका पशुचौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको पनि उनले बताइन्। सञ्चार र विद्युत् अवरुद्ध हुँदा धेरै प्रभावित अझै बाहिरी संसारसँग सम्पर्कविहीन रहेको उनको भनाइ छ।