राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले ग्यासको हाहाकारका कारण बजारमा मुख देखाउन नसक्ने अवस्था भएको बताएका छन्।
'ग्यासको हाहाकारले बजारमा मुख देखाउन नसक्ने अवस्था बनेको छ,' सांसद चौलागाईंले भने, 'सरकार के हेरेर बसेको छ?'
चौलागाईंले जेनजी आन्दोलनको स्मृति दिवसको कार्यक्रमबारे समेत प्रश्न उठाएका छन्।
गृहमन्त्री सुदन गुरूङको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वरस्थित जलाइएको संसद भवनमा सरकारलले स्मृति दिवसको कार्यक्रम गरेको थियो।
'जेनजीको भावना र मर्म विपरीत गएर विवादास्पद व्यक्तिहरूलाई किन उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो,' चौलागाईंले भने, 'त्यो विवादास्पद कार्यक्रम आयोजना गर्न कसको भूमिका थियो? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'
नयाँ बानेश्वरमा आयोजना गरिएको कार्यक्रममा उपस्थित को विवादास्पद व्यक्ति सामेल थिए भन्ने विषयमा भने चौलागाईंले खुलाएनन्।