भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको अस्थायी बसोबासका लागि व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको छ।
आपतकालीन अवस्थाको रूपमा विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरू भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर 'कोबो टुलबक्स' प्रयोग गरी 'आवश्यकता मूल्यांकन फारम' मार्फत सर्वेक्षण गरिरहेको छ।
यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्नेहरूको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुने कार्यालयले जनाएको छ।
हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ।
एक हप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ। यस लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर रहेका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिने कार्यालयले जनाएको छ।