सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले विपद प्रतिकार्यमा सरकारले गरेको काममा प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्।
प्रतिनिधि सभामा समय लिएर बोल्दै पार्टी सभापति समेत रहेका लामिछानेले विपदको बेलामा पनि सरकारलाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माबाट हेर्न आवश्यक नरहेको बताउँदै अहिले भइरहेका कामहरूमा प्रश्न उठाउने ठाउँ नरहेको बताएका हुन्।
उनले सुरूकै घन्टामा सरकारले आफ्नो राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरू गरेको बताए।
हजारौं सुरक्षाकर्मीहरू तत्काल प्रभावित क्षेत्रमा खटिएको पनि उनले बताए।
'तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो,' उनले भने,' घाइतेहरुको उद्धार र उपचार विस्तापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा प्रश्न गर्ने ठाउँ देख्दिनँ।'
उनले नागरिकहरूलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको पूर्ण जिम्मेवारी लिएको बताए।
'कति पय ठाउँमा बाटो छैन, सञ्चार छैनमौसम अनुकूल छैन। तर ती सबै कठिनाइका बीच पनि उद्धार तथा राहत कर्मी प्रभावित नागरिकसम्म पुगेका छन्,' उनले भने।