नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गतेको घटनाका दोषीहरूमाथि कारबाही हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलन घटनामा छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न सकिएन भने यो समाज कहिल्यै न्यायपूर्ण बन्न नसक्ने पनि उनले बताए।
आज एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भने, ‘भदौ २४ गते आवेग र आक्रोश प्रयोग गरेर प्रायोजित हिंसा भयो। को थियो सिंहदरबार र अदालत जलाउने, त्यत्रो ठूलो ध्वंश गराउने, उकास्ने र योजना बनाउने? आज कोही चुक्क बोल्दैन, कसैले जिम्मा लिँदैन। यसको जबाफदेहीता कसैले लिनुपर्दैन? कसैले सजाय पाउनुपर्दैन?’
उनले भदौ २३ र २४ गते घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने र दोषीहरूमाथि राज्यले कारबाही अघि बढाउनुपर्ने बताए।
‘भदौ २३ युवाले आक्रोश र विद्रोह गरेको दिन थियो, राज्यको दमन भएको र शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएर उक्साउने काम भएको थियो र त्यो उक्साउने को थिए? तिनको पहिचान हुनुपर्छ। दमन गर्नेले सजाय पाउनुपर्छ,’ उनले भने।
भदौ २३ र २४ दुवै दिन अपराध गर्नेले सजाय पाउनुपर्ने उनले बताए।