सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले विपद प्रतिकार्यमा राज्य कहाँ छ भन्ने प्रश्नको उत्तर संसदबाट दिएका छन्।
बुधबार प्रतिनिधि सभामा समय लिएर बोल्दै पार्टी सभापतिसमेत रहेका लामिछानेले राज्यले राज्यले केही गरेन, राज्य कहाँ छ भन्ने प्रश्न केहीले गरेको आफूले सुनेको भन्दै त्यसमा जबाफ दिएका हुन्।
उनले यसको जबाफमा दृश्यसहित प्रस्ट्याउनु आवश्यक रहेको बताए।
'म यहीँबाट भन्न चाहन्छु, राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छारी बन्न रातदिन खटिरहेको छ,' उनले भने।
उनले राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरू मात्र नभई विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयासमा रहेको बताए।
'राज्य यतिबेला भविष्यमा फेरि यस्तो विपद्को नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ,' उनले भने।
सरकारले गरेको कामप्रति धन्यवाद दिन कसैले पनि कन्जुस्याइँ गर्न नहुने उनले बताए।