नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले वास्तविक रूपमा पार्टी एकताका कुरा अघि नबढेकोले १५ औं महाधिवेशन तयारी सुरू गरेको बताएका छन्।
भक्तपुरमा आज बिपी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले असोज १५ देखि वडा अधिवेशन सुरू गरेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरिने बताए।
पार्टी एकताका पक्षमा आफूहरू रहे पनि एक हातले मात्र ताली नबज्ने उनको भनाइ थियो। संस्थापन पक्षबाट ठोस पहल नभएको तर सञ्चार माध्यम र सामाजिक सञ्जालमा एकताको चर्चा हुने गरेको उनको भनाइ छ।
‘हामी एकताको कहिल्यै विपक्षमा छैनौं तर हामीले भन्दाभन्दा केही लागेन। त्यसपछि आत्मा बचाउने अभियान छोड्नु भएन नि,’ उनले भने, ‘हातखुट्टा हामीले छाड्नु त भएन नि!, त्यही अभियानमा हामी लागेका छौं।’
१४ औं महाधिवेशनबाट आएको कार्यसमितिले १५ औं अधिवेशन गर्न पाउनुपर्ने र त्यो नै नेपाली कांग्रेस हुने पनि उनले बताए।
कतिपय कार्यकर्ताहरूले बेग्लै पार्टी बन्न लाग्यो भन्ने कुरा गर्ने गरेको उल्लेख गर्दै उनले यो बिपी कोइरालाकै कांग्रेस भएको बताए।
‘एकताकै पक्षमा छौं भनेर हामीले राष्ट्रिय सम्मेलनबाट नै पारित गरेका छौं, तर गर्ने कुनै छाँटकाँट छैन, खाली सामाजिक सञ्जाल र मिडियामा मात्र छ, वास्तविक रूपमा एकता देखिएको छैन। त्यसैले भर गरेर बस्न सकिन्न। आफ्नो अभियानमा लागौं,’ महतले भने, ‘एकता नभएको सन्दर्भमा महाधिवेशन गर्न तयारी अवस्थामा रहनुपर्छ।’