राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिमोहन भण्डारीले निर्माणाधीन संसद भवनको बरन्डामा छिटोभन्दा छिटो क्यान्टिन सञ्चालन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको भवनबाट बाहिर जान सचेतकले रोक लगाएकाले भोकभोकै बस्नुपर्ने अवस्था आएको भण्डारीले बताए।
'क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरूरी छ। नत्र सचेतकले (फोन/मेसेज) हानिहाल्नुहुन्छ। कतिखेर कहाँ हो भन्नुहुन्छ,' भण्डारीले भने, 'बाहिर जाऊँ भएन। भोकभोकै बस्नुपर्ने अवस्था आयो, हिजो।'
उनले 'केही न केही व्यवस्था गर्न' सभामुखको ध्यानाकर्षण गराए।
निर्माणाधीन संसद भवनमा सोल्टी होटलले अस्थायी क्यान्टिन सञ्चालन गर्दै आएको थियो। रास्वपा सांसद खगेन्द्र सुनारले क्यान्टिन महँगो भएको भन्दै संसद बैठकमा कुरा उठाएपछि क्यान्टिनले सेवा रोकेको छ।
सम्बन्धित समाचार : के खगेन्द्र सुनारले भने जस्तै महँगो छ संसदको क्यान्टिन?
'उहाँ (सोल्टी) लाई नै दिए पनि हुन्छ। तर रेटको कम्परमाइज र सस्तो आइटमको केही (व्यवस्था) गर्नुपर्छ,' सांसद भण्डारीले भने, 'नत्र माननीयको तलबले घरभाडा तिर्ने हो कि, यता उता हिँड्ने हो कि बसभाडा तिर्ने हो। क्यान्टिन पनि महँगो भयो।'
के हो क्यान्टिन प्रकरण
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले केही दिनअघि संसदको क्यान्टिनको मूल्य महँगो भएको उल्लेख गरेका थिए। उनले सोल्टी होटलले सञ्चालन गरेको क्यान्टिनको मेनुभन्दा धेरै पैसा लिएको दाबी गर्दै बढाइचढाइ गरेका थिए।
तीन महिनाको अवधिका लागि क्यान्टिन सञ्चालन गरिरहेको सोल्टी होटलले त्यसपछि क्यान्टिनको सेवा रोकेको छ।
सोल्टी होटलले अहिले संघीय संसद सचिवालय परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएको छ। त्यहाँबाट संसद बैठक चलेको दिन खानेकुरा बनाएर निर्माणाधीन भवनबाट सेवा दिने गरेको थियो।
त्यसका साथै निर्माणाधीन भवनमा कफी मेसिन राखेर बेकरी आइटम बेचिराखेको थियो। मेसिनबाट बनेको कफी र बेकरी आइटम संसद सचिवालयको क्यान्टिनको मेनुमा थिएन। त्यसैले त्यसको मूल्य सोल्टी होटलले आफै निर्धारण गरेको थियो। अर्थात् रेष्टुरेन्टको मूल्यमा कफी र बेकरी आइटम बेचिरहेको थियो।
तर सांसदहरूले महँगो भएको गुनासो गरेपछि सोल्टी होटलको व्यवस्थापन चिढिएको हो।
'८ लाखको कफी मेसिनबाट २ हजार रुपैयाँ किलोको कफी पिसेर सय रुपैयाँमा बेच्दा पनि महँगो भनियो,' सोल्टी व्यवस्थापनले गुनासो गर्दै भनेको थियो, 'हामीलाई क्यान्टिन चलाउन रहर छैन। फाइभस्टार होटलको सेवा सांसदहरूलाई मन परेन।'
२०८३ असार मसान्तमा संसदको क्यान्टिन सञ्चालन गरिरहेको ल्याण्डमार्कले सेवा बन्द गरेको थियो। ल्याण्डमार्कले क्यान्टिनको केही मूल्य समायोजन गरिदिन आग्रह गरेको थियो। तर संसद सचिवालयले मूल्य समायोजन गर्न मानेन। बरू नयाँ टेन्डरमा जाने बतायो। सचिवालय नयाँ टेन्डरमा जाने भएपछि संसद क्यान्टिनविहीन बन्ने अवस्था आयो।
संसदीय समिति र अन्य बैठकहरूमा चिया र खाजा समेत खुवाउन नसकिने अवस्था बनेपछि सचिवालयले अघिल्लो पटक टेन्डरमा सहभागी सोल्टी होटललाई मौका दिएको थियो। सोल्टी पनि ल्याण्डमार्कले तोकेकै मूल्यमा सेवा दिन तयार भएको थियो। तर सोल्टीले निर्माणाधीन संसद भवनमा सेवा दिँदा कर्मचारी थप गर्नुपर्ने र सामान ओसारपसार गर्नुपर्ने देखाएर थप आइटम राख्यो।
क्यान्टिनको टेन्डर सम्झौताअनुसार मेनुमा भएका खानेकुराको मूल्य बढाउन नपाइने भए पनि क्यान्टिन सञ्चालन गर्ने पक्षले नयाँ फुड आइटम राख्दा आफ्नो मूल्य राख्न पाउँछ। सोल्टीले यसकै फाइदा उठाउँदै मेसिनबाट बन्ने कफी र बेकरी आइटमहरू राखेको थियो।
संसद सचिवालयका स्रोतका अनुसार क्यान्टिन सञ्चालनको टेन्डरमा पनि समस्या छ। सचिवालयले टेन्डर माग गर्दा करोडभन्दा माथि कारोबार भएकाले मात्र सहभागी हुन पाउने व्यवस्था गरेको छ।
किनभने एकैदिन सातदेखि आठ वटा समितिको बैठक चल्ने र यस्ता समिति बैठक बिहानदेखि बेलुकासम्म उपलब्ध गराउनुपर्ने हुन्छ। अझ संसदको बैठक नै राति अबेरसम्म चल्ने भएकाले राम्रोसँग चलेको रेष्टुरेन्ट र होटलले मात्रै टेन्डर भरोस् भन्ने सचिवालयको आशय छ। खानेकुराको पर्याप्त स्टक भएको र चाहिएको समयमा उपलब्ध गराउन सक्ने र तालिमप्राप्त स्टाफ भएकाले मात्र सहभागी हुन् भन्ने सचिवालयको चाहना छ।
तर राम्रो रेष्टुरेन्ट र होटलले लिने मूल्य पनि धेरै हुने भएकाले सचिवालयले समस्या खेप्दै आएको छ।
'होटल र सेवा राम्रो चाहिने तर मूल्य कम चाहिने भयो,' सचिवालय स्रोतले भन्यो, 'क्यान्टिन तल्लो तहका कर्मचारी, सुरक्षाकर्मीदेखि प्रधानमन्त्रीसम्मलाई सेवा दिने ठाउँ हो। त्यसैले मूल्यमा सधैँ किचलो छ।'
केही सांसदहरू संसदको क्यान्टिन कम्तीमा रेष्टुरेन्ट जस्तो होस् भन्ने चाहन्छन्। अनि केही कर्मचारी र सांसद क्यान्टिनजस्तै होस् भन्ने चाहन्छन्। त्यसैले क्यान्टिनको मूल्यबारे सधैँ बहस हुने गरेको छ।
संसद सचिवालयले पछिल्लो पटक असोज १३ गतेको अन्तिम मिति राखेर नयाँ क्यान्टिनका लागि नयाँ टेन्डर आह्वान गरेको छ।
नयाँ टेन्डर अवार्ड भएसँगै क्यान्टिनको सञ्चालक फेरिन्छ। सचिवालयका अनुसार सोल्टी होटलले अहिलेका लागि तीन महिना क्यान्टिन सञ्चालनको जिम्मा पाएको छ। त्यसो त असार मसान्तपछि संसद क्यान्टिनविहीन हुने अवस्था देखिएपछि सभामुख डोलप्रसाद अर्यालले समेत चासो व्यक्त गरेका थिए।
उनले सोल्टी अथवा अन्य कुनै होटल इच्छुक भए सञ्चालन गर्न दिन सुझाव दिएका थिए। पोखरा र काठमाडौंमा होटल सञ्चालन गरिरहेको बराही होटलले पनि क्यान्टिन सञ्चालनमा चासो देखाएको छ। बराहीले 'बनियान ट्री' नाममा क्यान्टिनमा प्रवेश गर्न चाहेको थियो। अब नयाँ टेन्डरमा बराहीको पनि इन्ट्री हुने सम्भावना छ।