नेपाली कांग्रेसको महाधिवेशनमा विधानमै समावेश गरेर पहिलो पटक विषय विज्ञहरू महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्।
कांग्रेसको१५ औँ महाधिवेशनका लागि विभिन्न पेसागत क्षेत्रमा काम गरिरहेका विषय विज्ञहरू प्रतिनिधिको रूपमा चयन हुँदैछन्।
विधान २०१७ को एघारौं संशोधनले प्रत्येक वडाबाट छानिने क्षेत्रीय प्रतिनिधि तथा प्रतिनिधि सभा क्षेत्रबाट छानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा कम्तिमा एक जना पेसागत क्षेत्रका विषय विज्ञ रहने व्यवस्था गरेको छ।
विधानको सो व्यवस्थालाई १५ औं महाधिवेशन निर्वाचन निर्देशिका २०८३ ले थप व्याख्या गर्दे ‘प्रचलित कानुन बमोजिम परिषद् वा संस्था वा बोर्ड वा प्रतिष्ठानबाट अनुमति प्राप्त, विशेषज्ञता सेवा प्रधान गर्ने व्यक्ति र अवकाश प्राप्त कर्मचारी, शिक्षक, प्राध्यापक र प्राज्ञहरू’ लाई सो क्लस्टरमा समेटेको छ।
कांग्रेसको सोही संशोधित विधान र महाधिवेशन निर्वाचन निर्देशिकाको आधारमा देशभरबाट कम्तीमा १६५ जना विषय विज्ञहरू महाधिवेशन प्रतिनिधिको रूपमा मूलधारको राजनीतिमा संलग्न हुँदै छन्।
गोरखाका इन्जिनियर उमेश धिताल विधानको उक्त व्यवस्था अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचितमध्ये एक हुन्। लामो समयदेखि हाइड्रोपावर इन्जिनियरिङ परामर्श सेवामा सक्रिय रहेका इन्जिनियर धिताल कांग्रेसको १५ महाधिवेशनका लागि गोरखा क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा विषय विज्ञको रूपमा पेसागत समूहबाट निर्विरोध निर्वाचित भएका हुन्।
धिताल विशेष महाधिवेशनमा पेस गरिएको संशोधित विधानको मस्यौदा तयार गर्ने टिममध्येका एक सदस्य थिए।
‘विगतका महाधिवेशनहरूमा खुल्ला रूपमै निर्वाचन लडेर दुईचार जना विषय विज्ञहरू महाधिवेशन प्रतिनिधि चयन भएर आउने गरेको भए पनि यति ठूलो संख्यामा विषय विज्ञहरूको प्रवेश पहिलो पटक हो,’ उनले भने।
यसअघि पार्टीको राजनीतिमा विशुद्ध राजनीतिक कार्यकर्ताहरू मात्र आउने गरेकोमा पहिलो पटक पेसागत समूहबाट विषय विज्ञहरू महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी हुने अवसर मिलेको उनले बताए।
‘विशेष महाधिवेशनबाट संशोधित विधानकै आधारमा राजनीतिलाई नीति र ज्ञानमा आधारित बनाउन विभिन्न पेसागत क्षेत्रहरू डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, अर्थशास्त्री लगायतका विषय विज्ञहरूलाई पेसागत विषय विज्ञ समूहका रूपमा महाधिवेशन प्रतिनिधि चुनिने अवसर मिलेको हो,’ उनले भने, ‘केही खुल्ला प्रतिस्पर्धाबाट आउने बाहेक सीमित शुभेच्छुक संस्थाहरूबाट पाँच जना महाधिवेशन प्रतिनिधि छानिने साबिकको व्यवस्था थियो, यो पटक एउटा निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना विषय विज्ञको प्रतिनिधित्व सुनिश्चित भएको छ।’
उनले एक सय हाराहारीमा इन्जिनियरहरू महाधिवेशन प्रतिनिधि चयन हुन सक्ने बताए। इन्जिनियरहरू जस्तै डाक्टर, वकिल, पत्रकार, पूर्वशिक्षक, पूर्वकर्मचारी, प्राज्ञ आदिको उपस्थिति पनि यस पटक उल्लेख्य वृद्धि हुने उनले बताए।
राजनीतिक दलहरूमा विषय विज्ञहरूको उपस्थितिले आगामी संसदीय निर्वाचनहरूमा समेत विषय विज्ञ उम्मेदवारहरूको उपस्थिति बढ्न सक्ने देखिन्छ। दलहरूमा पेसागत विज्ञहरूको उपस्थितिले दलहरूको सोचाइको दायरा थप फराकिलो पार्ने धिताल बताउँछन्।
कांग्रेसको संशोधित विधान अनुसार महाधिवेशन प्रतिनिधि मात्र होइन केन्द्रीय समितिमा पनि विषय विज्ञहरूको उपस्थिति बढ्ने छ।
केन्द्रीय कार्यसमितिमा विभिन्न पेसा व्यवसाय, श्रमिक र विषयगत क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू मध्येबाट दुई महिला सहित सात जना सदस्य निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था गरिएको छ। त्यसमध्ये एक महिलासहित चार जना सदस्य पेसागत विषय विज्ञ नै हुनुपर्ने छ।