पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नयाँ नेतृत्वलाई पुरानो राजनीतिक शैलीबाट माथि उठेर आर्थिक रूपान्तरणको स्पष्ट योजना बनाउन आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बोल्दै भट्टराईले कांग्रेसले पुस्तान्तरणको प्रक्रिया अघि बढाएको देखिए पनि नयाँ पुस्ताले हिम्मत गरेर अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसका सभापति गगन थापा र मञ्चमा रहेका नेताहरूलाई नयाँ पुस्तालाई विश्वास गर्न पनि आग्रह गरे।
‘म खासगरी मेरा पुस्ताका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामीले अब नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ। नेपाली कांग्रेसले पनि कमसेकम पुस्तान्तरण गरेर गयो, विचार पनि नयाँ ढंगले अगाडि बढेछ भन्ने लागेको थियो,’ उनले भने, ‘फेरि पनि नयाँ पुस्ताले जुन हिम्मत गरेर अगाडि बढेको छ, यो स्वागतयोग्य छ। तपाईंहरू अगाडि बढ्नुहोस्।’
भट्टराईले कांग्रेससहित पुराना राजनीतिक दलले अब सरकार बनाउने र गिराउने खेलभन्दा देशको आर्थिक विकासलाई मुख्य मुद्दा बनाउनुपर्ने बताए। संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि दलहरू आर्थिक समृद्धिको दिशामा जान नसकेको उनको भनाइ थियो।
‘हामी सबैले पालैपालो सरकारमा बसेका छौँ। संविधान जारी भएको अहिले १०–१२ वर्ष भइसक्यो। त्यसपछि यता हामी खाली सरकार बनाउने, गिराउने खेलमा मात्रै लाग्यौँ, आर्थिक समृद्धिको दिशामा जान सकेनौँ,’ उनले भने।
उनले नेपालमा राजनीतिक परिवर्तनका लागि लामो संघर्ष भए पनि त्यसअनुसार आर्थिक परिवर्तन हुन नसकेको बताए। देशका युवाहरू रोजगारी र अध्ययनका लागि विदेशिनुपर्ने अवस्थालाई उनले अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत गरे।
‘किन ५०औँ लाख हाम्रा छोराछोरी विदेशमा छन्? तपाईंहरूमध्ये कसैको घरमा आफ्ना छोराछोरी विदेश नगएको कोही हुनुहुन्छ? बहुत कम हुनुहोला। ९०–९५ प्रतिशतका घरका युवायुवती विदेश जान, कि त पढ्न, कि रोजगारीमा जान बाध्य छन्,’ उनले भने।
भट्टराईले नेपालको अर्थतन्त्र पछिल्लो ६० वर्षमा एक वर्ष पनि १० प्रतिशतभन्दा बढीको दरले वृद्धि हुन नसकेको बताए। कोरिया, सिंगापुर, मलेसिया र चीनले छोटो अवधिमै तीव्र आर्थिक विकास गरेको उदाहरण दिँदै नेपालले पनि आगामी १०–२० वर्षका लागि स्पष्ट आर्थिक योजना बनाउनुपर्ने उनको भनाइ थियो।
‘हाम्रै जीवनकालमा कोरिया, सिंगापुर, मलेसिया, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी १० वर्ष, २० वर्षभित्र त्यहाँसम्म कसरी पुग्ने? यसैमा एउटा योजना बनाऔँ,’ उनले भने, ‘त्यसलाई सबै पार्टीहरूले कसले राम्रोसँग कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ।’
उनले पछिल्लो जेनजी विद्रोहलाई पनि युवापुस्तामा बढेको निराशाको परिणामका रूपमा लिनुपर्ने बताए। त्यसलाई विदेशी शक्तिले गराएको भनेर अरूलाई दोष दिनुभन्दा राजनीतिक दलहरूले आफ्नै कमजोरी हेर्नुपर्ने उनको भनाइ थियो।
‘हामीले अरूलाई दोष दिने होइन। मुख्यतः हाम्रै कारणले गर्दा किन हामीले हाम्रा छोराछोरीलाई सपना देखाउन सकेनौँ? किन विश्वास दिलाउन सकेनौँ?’ भट्टराईले भने।
उनले रास्वपाको उदयलाई पनि पुराना राजनीतिक दलमा रूपान्तरणको दबाब सिर्जना गरेको घटनाका रूपमा व्याख्या गरे। आफूले माओवादीमै रहँदा नयाँ शक्तिको आवश्यकता औँल्याएको स्मरण गर्दै उनले पुराना दलहरू रूपान्तरण हुनुपर्ने वा नयाँ शक्तिको उदय हुनुपर्ने धारणा त्यतिबेलै राखेको बताए।
‘म माओवादी पार्टीमा छँदै मैले भनेको थिएँ– कि त पुराना पार्टीहरू रूपान्तरित हुनुपर्छ, कि विभिन्न पार्टीभित्र रहेका नयाँ सोच राख्ने मान्छेहरू एक ठाउँमा आउनुपर्छ, कि त बिल्कुलै नयाँ ढंगले तलैबाट नयाँ शक्तिहरूको उदय हुन्छ,’ उनले भने।
भट्टराईले रास्वपाले अहिले सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्नु र त्यसको दबाब कांग्रेसलगायत अन्य दलमा पर्नुलाई सकारात्मक रूपमा लिए। तर अहिलेको निर्वाचन प्रणालीबाट राजनीतिक स्थिरता कायम गर्न कठिन हुने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्ने पुरानै धारणा दोहोर्याए।
‘अहिले रविजीहरूले करिब दुई तिहाइ बहुमत ल्याउनुभयो। उहाँहरूले त्यो टिकाउनुहोस्, त्यसलाई हामी शुभकामना दिनुपर्छ। तर यही हाम्रो चुनावी प्रणाली रहिरह्यो भने भन्न सकिँदैन,’ उनले भने, ‘कि त एउटा सहमति बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकाको पक्षमा तपाईंहरू जानुहोस्।’
भट्टराईले कुनै पनि सरकार तीन वर्षभन्दा बढी टिक्न नसकेको अवस्थामा दीर्घकालीन आर्थिक विकास सम्भव नहुने बताए। राजनीतिक स्थिरता कायम गरेर मात्रै आर्थिक क्रान्ति गर्न सकिने उनको भनाइ थियो।
उनले संविधानका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई कमजोर नबनाउन पनि कांग्रेससहित सबै राजनीतिक दललाई आग्रह गरे।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जुन यसका खम्बा हुन्, तीमध्ये कुनै पनि एउटा खम्बा ढल्यो भने पुरै व्यवस्था, पुरै संविधान ढल्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले यो संविधानको रक्षा गरौँ र यसमा टेकेर अगाडि बढौँ। यसैको वरपर नेपाली कांग्रेसले पनि आफ्नो प्रयत्न जारी राखोस्।’
पूर्वप्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पनि छिटो टुंग्याउन कांग्रेससहित सबै दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेको २० वर्ष पुग्न लाग्दा पनि काम पूरा हुन नसकेको भन्दै उनले त्यसलाई प्राथमिकताका साथ टुंग्याउन आग्रह गरे।
‘त्यो सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग छ, त्यसको काम छिटो पूरा गरियोस्। त्यो एउटा दलको मात्रै कुरा होइन, यसमा पनि तपाईंहरू सबैले राष्ट्रिय सहमति कायम गर्नुहोस्,’ उनले भने।