नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उपसभापति पदका लागि अहिलेसम्म पुष्पा भुषाल, गोविन्द भट्टराई, देवराज चालिसे, मिनेन्द्र रिजाल, विनोद चौधरी, मधु आचार्य र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
उनीहरूले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको संशोधित विधान अनुसार यसपटक एक वरिष्ठसहित चार जना उपसभापति निर्वाचित हुने व्यवस्था छ।
उपसभापतिमा उम्मेदवारी दिएका गोविन्द भट्टराईले पार्टीलाई बलियो र एकताबद्ध बनाउन नेतृत्वमा आउन साथीहरूले सुझाव दिएपछि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।
नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष भट्टराई २०५३ देखि २०५७ सम्म नेविसंघको अध्यक्ष थिए। उनले पार्टीको पुनर्जागरण, गुटमुक्त संगठन र समृद्धिलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।
पार्टीभित्र आन्तरिक एकता कायम गर्दै बाह्य चुनौतीको सामना गर्न सक्ने कांग्रेस निर्माणका लागि सभापतिमा गगन थापाको नेतृत्वमा रहेर काम गर्न आफूले उपसभापतिमा उम्मेदवारी दिएको उनको भनाइ छ।
भट्टराई यसअघि तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। २०७९ को उपनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग पराजित भएका थिए। २०८२ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी तनहुँ–१ बाट कांग्रेसका उम्मेदवार बनेर वाग्लेसँग पराजित भएका थिए।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।
चालिसेले आफू १४औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बनेको र विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेकाले अब उपसभापतिमा दाबी गरेको बताएका छन्।
गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनपछि सभापति गगन थापा नेतृत्वको पार्टीमा प्रवक्ता नियुक्त भएका चालिसे त्यसै महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत चयन भएका थिए।
विशेष महाधिवेशन आह्वानको अभियानमा पनि उनी सक्रिय थिए। पार्टीको विधान अनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने भन्दै उनले देशभरबाट प्रतिनिधिको हस्ताक्षर संकलन अभियान चलाएका थिए।
चालिसेको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी नेपाल विद्यार्थी संघ कास्कीका अध्यक्ष हुँदै केन्द्रीय कार्यवाहक अध्यक्ष भएका थिए। २०४९ सालमा उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए।
त्यस्तै, कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।
मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित रिजाल १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए। डा. शेखर कोइराला समूहबाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।
रिजाल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट निर्वाचित भएका थिए। त्यसपछि उनी रक्षामन्त्री बनेका थिए। उनले यसअघि सूचना तथा सञ्चारमन्त्री तथा संस्कृति तथा संघीय मामिलामन्त्रीका रूपमा पनि सरकारमा काम गरिसकेका छन्। २०६४ र २०७० सालका संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट सभासद भएका थिए।
२०८२ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट मोरङ–२ का उम्मेदवार बनेका रिजाल १२ हजार ७ सय ६४ मतसहित पराजित भएका थिए।
कांग्रेसका केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दिएका छन्।
चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि हुन्। उनी मधेसी क्लस्टरबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका थिए।
गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका चौधरी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट निर्वाचित भएका थिए। गत फागुनको निर्वाचनमा भने उनी यही क्षेत्रबाट उम्मेदवार बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए।
चौधरीले कांग्रेसले युवा नेतृत्वलाई स्थापित गर्नुपर्ने र आर्थिक रूपान्तरणको स्पष्ट दृष्टिकोण भएका नेताहरूलाई नेतृत्वमा पुर्याउनुपर्ने बताएका छन्।
'देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ। यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्छ। साथै, आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेताहरूलाई नेतृत्व तहमा पुर्याई आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरू गर्नुपर्नेछ,' उनले भनेका छन्।
उनले आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिलाई कांग्रेसको नेतृत्वको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
यता, कांग्रेस नेता पुष्पा भुषालले उपसभापतिको महिला समूहबाट उम्मेदवारी दिएकी छन्।
भुषालले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्। कांग्रेसको संशोधित विधान अनुसार उपसभापतिमा महिला प्रतिनिधित्वको पनि व्यवस्था गरिएको छ।
त्यस्तै, उपसभापतिमा उम्मेदवारी दिएका मधु आचार्य काभ्रे कांग्रेसका सभापतिसमेत रहिसकेका छन्। उनले पार्टी रूपान्तरणको एजेन्डासहित मेची–महाकाली अभियानसमेत सञ्चालन गरेका थिए।
पार्टीमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताउँदै उनले संगठनलाई बलियो बनाउने विषयलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सार्दै आएका छन्।
आचार्य कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुखसमेत हुन्। उनी सभापति गगन थापा र उपसभापति शर्मासँग निकट रहेर पार्टीका विभिन्न गतिविधिमा काम गर्दै आएका छन्।
उपसभापति खुला समूहमा उम्मेदवारी दिएका डा. चन्द्र भण्डारीले 'रूपान्तरित कांग्रेस' निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन्।
उनले 'समृद्ध मुलुक, खुसी नेपाली' लाई लक्ष्य र समयअनुकूल विचार बोकेको पार्टी निर्माणलाई त्यसको साधनका रूपमा अघि सारेका छन्। कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेको भन्दै अब वर्तमान पुस्ताले पार्टी र मुलुकको भविष्य निर्माणमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
भण्डारी १४औं महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार बनेका थिए। त्यति बेला उनी शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा ओर्लिएका थिए।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि ७ हजार १ सय १४ प्रतिनिधि सहभागी हुँदैछन्। निर्वाचन बिहीबार गर्ने कार्यतालिका छ।