रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष पक्राउ परेका छन्।
प्रहरीलाई काममा बाधा पुर्याएको आरोपमा वडाध्यक्ष केशरमान विक मंगलबार पक्राउ परेका हुन्।
अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न गएको प्रहरी टोली वडाध्यक्ष विकको घर पुगेको थियो।
त्यस क्रममा वडाध्यक्ष विकले प्रहरीलाई गालीगलौज गर्दै धकेलाधकेल गर्दै आफ्नो भाइलाई पनि भगाएपछि प्रहरीले वडाध्यक्ष विकलाई पक्राउ गरेको हो।
वडाध्यक्षले भाइलाई त्यहाँबाट भगाएपछि ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गरेको र कपडासमेत च्यातिदिएको प्रहरीको दाबी छ।
त्यसपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वडाध्यक्ष विकविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय मुसिकोटबाट तीन दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार वडाध्यक्ष विक यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।
२०७६ पुस ३ गते आठबिसकोट नगरपालिकाको जाहेरीमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएकोमा अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयको आदेशमा १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।
त्यसैगरी २०७७ असार ५ गते अमृते बोहरासहितको जाहेरीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दामा अनुसन्धानपछि रुकुम जिल्ला अदालतको आदेशमा उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
२०७७ माघ ७ गते तारकबहादुर शाहीको जाहेरीमा पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको र अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयको आदेशमा २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
केशरमान नेपाली कम्युनिस्ट पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
उनी नेकपाको कर्णाली प्रदेश सदस्य पनि हुन्।
घटनापछि नेकपाको रूकुम पश्चिम कमिटीले विज्ञप्ती जारी गर्दै प्रहरीले वडाध्यक्ष केशरमानलाई झुक्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कुटपिट समेत गरी घाइते बनाएको आरोप लगाएको छ।
नेकपा रूकुम पश्चिम कमिटीले मंगलबार बिहान वडासँग सम्बन्धित केही विषयमा छलफल गर्नुछ भनेर वडाध्यक्ष केशरमानलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको र कार्यालय पुग्नासाथ विना पक्राउ पुर्जी हतकडी लगाएको आरोप लगाएको छ।
'कुटपिटबाट वडाध्यक्ष विकको टाउको, अनुहार र घाँटीको भागमा गम्भीर चोट लागेको सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको भिडिओमा स्पष्टसँग देख्न सकिन्छ,' विज्ञप्तीमा भनिएको छ।
नेकपाले वडाध्यक्ष विकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।