नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
सभापति गगन थापाको विशेष आग्रहलाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको चालिसेले बताएका छन्।
उम्मेदवारी फिर्तापछि जारी गरेको वक्तव्यमा चालिसेले देशभरका साथीहरूबाट प्राप्त माया, विश्वास, समर्थन र हौसलाप्रति आभार व्यक्त गरेका छन्। आफ्नो निर्णयप्रति धेरै साथीहरूले आश्चर्य व्यक्त गर्दै असन्तुष्टि जनाएकामा उनले क्षमासमेत मागेका छन्।
उनले आफ्नो निर्णय पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन्। यो निर्णय चुनाव लक्षित वा व्यक्ति लक्षित नभएको भन्दै उनले पार्टीका सबै नेता–कार्यकर्तालाई आफ्नो विवेकअनुसार निर्णय गर्न स्वतन्त्र रहेको बताएका छन्।
‘पार्टी प्रणालीमा सभापतिको राजनीतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ,’ चालिसेले भनेका छन्।
उनले पार्टीका लागि केही गर्न आफूहरूले भूमिका खोजेको उल्लेख गर्दै कुनै पनि भूमिका अन्तिम नहुने बताए। ‘भूमिका आफूले रोज्नेभन्दा पार्टीले खोज्ने प्रणालीले नै पार्टी प्रणालीलाई बलियो बनाउँछ,’ उनले भनेका छन्।
पार्टीका जिम्मेवारी प्रतिष्ठाभन्दा परिणामका विषय भएको भन्दै चालिसेले सामूहिक शक्ति र एकताबद्ध प्रयासबाट मात्रै कांग्रेसलाई सुदृढ बनाउन सकिने बताएका छन्।