नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्।
बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै ओलीले वर्तमान सरकारको गतिविधिविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने बताए।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न आग्रह गरे।
‘आन्दोलनका लागि साथीहरू तयारी गर्नुस्, तयार रहनुस्,’ ओलीले भने।
उनले सरकार गलत छ भनेर आलोचना गरेर मात्रै नपुग्ने बरू त्यसविरुद्ध संगठित रूपमा अघि बढ्नुपर्ने बताए।
पार्टी केन्द्रीय कमिटीका दुई मुख्य काम आन्दोलन र निर्वाचन भएको उल्लेख गर्दै उनले दुवैका लागि तयारी गर्नुपर्ने बताए।
ओलीले एमाले कमजोर नभएको प्रमाण आन्दोलन र निर्वाचनबाट देखाउनुपर्ने बताए।
एमाले देशकै सही विचार बोकेको, संगठित र प्रभावशाली पार्टी भएको भन्दै उनले त्यसलाई व्यवहारबाट पुष्टि गर्नुपर्ने बताए।
‘अरूले भन्दा हामी आफैँ पछारिएका छौँ,’ उनले भने, ‘अब पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्छ।’
उनले पार्टीका जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए।
केही संगठन कमजोर रहेको र पार्टीका कतिपय सदस्यमा निष्ठाको कमी देखिएको भन्दै उनले निःस्वार्थ रूपमा पार्टीप्रति समर्पित हुन कार्यकर्तालाई आग्रह गरे।
ओलीले विगतमा कसले के गल्ती गर्यो भन्ने विषयमा अल्झिनुभन्दा अहिलेको कामको समीक्षा गरेर अघि बढ्न पनि निर्देशन दिए।
‘तैँले यसो गरिस् र मैले यसो गरेँ’ भनेर एकअर्कालाई दोष लगाउनुभन्दा पार्टीलाई अघि बढाउने काममा लाग्नुपर्ने उनको भनाइ थियो।
पार्टीलाई बलियो बनाउन युवालाई परिचालन गर्नुपर्ने र नयाँ सदस्य थप्नुपर्नेमा पनि उनले जोड दिए। युवाको सहभागिताबिना पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्ने ओलीले बताए।