इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने सम्भावित योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको छ।
सिएनएनका अनुसार यस विषयमा जानकार सात जना अमेरिकी अधिकारीले इरानको सम्भावित योजनाबारे जानकारी दिएका हुन्। यद्यपि इरानले यस्तो आक्रमण गर्न सक्ने क्षमता राख्छ वा वास्तवमै आक्रमण गर्ने तयारी गरिरहेको छ भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच अझै बहस भइरहेको छ।
‘आक्रमण गर्न आवश्यक जनशक्ति उनीहरूसँग वास्तवमै उपलब्ध छ कि छैन भन्ने विषयमा बहस भइरहेको छ,’ एक अमेरिकी अधिकारीले सिएनएनसँग भनेका छन्।
गुप्तचर स्रोतहरूका अनुसार इरानको यो योजना तत्कालै आक्रमण गर्ने तयारीभन्दा पनि भविष्यमा आवश्यक परेको अवस्थामा प्रयोग गर्न सकिने विकल्प तयार पार्ने प्रयासका रूपमा देखिएको छ। तर अमेरिकी गुप्तचर निकायले प्राप्त गरेको सूचनामा आक्रमणका सम्भावित स्थान र लक्ष्यसमेत उल्लेख भएकाले अमेरिकी अधिकारीहरूले सुरक्षा सतर्कता र आकस्मिक प्रतिकार्यको तयारी तीव्र पारेका छन्।
ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले भने अमेरिकाले सम्भावित सबै खतरामाथि निगरानी गरिरहेको तर हाल अमेरिकी भूमिमा आक्रमणको कुनै विश्वसनीय खतरा नरहेको बताएकी छन्।
‘सम्भावित सबै प्रकारका खतरामाथि निगरानी गरिरहेका छौं। तर अहिलेका लागि अमेरिकी भूमिमा कुनै विश्वसनीय खतरा रहेको सूचना प्राप्त भएको छैन,’ उनले भनिन्।
अमेरिकी अधिकारीहरूले भने पछिल्लो गुप्तचर सूचनालाई इरानले द्वन्द्व थप चर्काउन सक्ने संकेतका रूपमा लिएका छन्। अमेरिकाले गरिरहेको निरन्तर सैन्य आक्रमण र कडा आर्थिक नाकाबन्दीका कारण दबाबमा परेको इरानले अब अमेरिकी भूमिभित्रै सम्भावित आक्रमणको योजना बनाउन थालेको स्रोतहरूको भनाइ छ।
द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका कूटनीतिक वार्ता प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपति ट्रम्पले गत साता युद्ध चाँडै अन्त्य हुने बताएका थिए। तर पछिल्लो सुरक्षा चुनौतीलाई लिएर अमेरिकी अधिकारीहरूले पर्दापछाडि गरिरहेको तयारीले युद्धको अवस्था अझै अनिश्चित रहेको देखाएको छ।
यस विषयमा जानकार दुई स्रोतलाई सिएनएनले उदृत गर्दै लेखेको समाचार अनुसार पछिल्लो एक सातामा अमेरिकी अधिकारीहरूले सम्भावित खतराको प्रतिकार कसरी गर्ने भन्नेबारे पटक-पटक बैठक गरेका छन्।
यसैबीच, इरानबाट प्राप्त सुरक्षा चुनौतीका कारण अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) ले अर्थमन्त्री स्कट बेसेन्टलाई गत साता सैन्य आवासमा सारेको थियो।
इरानले ट्रम्प प्रशासनका वर्तमान तथा पूर्वअधिकारीलाई लक्षित गर्ने गतिविधि यसअघि पनि गर्दै आएको अमेरिकी अधिकारीहरूको भनाइ छ। सन् २०२४ मा ट्रम्पको हत्या गर्न सुपारी दिने योजनासमेत सार्वजनिक भएको थियो। यस्ता गतिविधि मुख्यतः अमेरिकी अधिकारीहरू विदेश भ्रमणमा रहेका बेला उनीहरूलाई निशाना बनाउने अवसर खोज्न केन्द्रित थिए।
के हो डर्टी बम?
डर्टी बम आणविक बमभन्दा निकै फरक हुन्छ। आणविक बम न्युक्लियर फिसन प्रक्रियामा आधारित हुन्छ र यसको विनाशकारी क्षमता डर्टी बमको तुलनामा कैयौं गुणा बढी हुन्छ।
डर्टी बमले पनि रेडियोधर्मी विकिरणयुक्त कणलाई हावामा फैलाएर केही ब्लकदेखि माइलौ टाढासम्म प्रदूषण फैलाउन सक्छ। तर विशेषज्ञहरूका अनुसार यसबाट हुने मानवीय क्षतिको प्रमुख कारण विकिरणभन्दा बम विस्फोट नै हुने सम्भावना बढी हुन्छ।
सामान्य विस्फोटक बमको तुलनामा डर्टी बम बनाउनु खासै कठिन हुँदैन। तर यसका लागि आवश्यक रेडियोधर्मी पदार्थ प्राप्त गर्नु भने मुख्य चुनौती हो।