नेपालका २७ औं प्रधानमन्त्री स्वर्गीय मरिचमानसिंह श्रेष्ठको गृहजिल्ला सल्यानमा बुधबार शालिक स्थापना गरी अनावरण गरिएको छ।
१९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठको २०७० साउन ३० गते काठमाडौंमा ७१ वर्षको उमेरमा निधन भएको थियो। श्रेष्ठ २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री भएका थिए।
उनले २०४६ चैत २४ गते पदबाट राजीनामा दिएको दुई दिनपछि तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते राति मुलुकमा पुनः बहुदलीय व्यवस्था पुनः स्थापना भएको घोषणा गरेका थिए। राजा वीरेन्द्रको त्यो घोषणासँगै मुलुकमा ३० वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो।
राजा महेन्द्रले २०१७ पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई थुनेर निर्दलीय पञ्चायती व्यवस्थाको थालनी गरेका थिए। त्यस व्यवस्थाका अन्तिम प्रधानमन्त्री यिनै श्रेष्ठ थिए।
उनी प्रधानमन्त्री छँदा २०४५ पछि बहुदल पुनः स्थापना नहुँदासम्म भारतले नेपालमा नाकाबन्दी गरेको थियो।
त्यो बेला नेपाल–भारत पारवहन तथा व्यापार सम्बन्धी विवाद चर्किएको थियो। भारतले नेपालमाथि नाकाबन्दी लगाए पनि श्रेष्ठले चीनलगायतका देशबाट हवाई मार्ग हुँदै नुन तथा पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तु आयात गरेका थिए।
प्रधानमन्त्रीबाट राजीनामा दिएपछि श्रेष्ठ सामान्य नागरिकसरहको जीवनयापन गरेका थिए। उनी घरमै गाई पालेर बसेका थिए।
श्रेष्ठ राजनीतिमा सक्रिय हुनुभन्दा पहिला खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत थिए। २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य बनेका श्रेष्ठ २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष भएका थिए।
त्यो बेलाको विकट सल्यानको खलंगामा जन्मिएर नेपालको २७औं प्रधानमन्त्री भएका श्रेष्ठको सम्मानका लागि युवाहरूले उनको शालिक स्थापना गरेका हुन्। बुधबार एक समारोहबीच शालिकको अनावरण गरिएको हो।
शालिक स्थापनाका क्रममा पञ्चेबाजा घन्काइयो। स्थानीयहरू खुसी मनाउन सोरठी नृत्यमा नाचे।

श्रेष्ठको शालिक जिल्लाको शारदा नगरपालिका–१ दारीमचौरका ९८ वर्षीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गर्दा त्यहाँ उपस्थित सर्वसाधारणले ताली बजाएर स्वागत गर्नुका साथै खुसीयाली साटेका थिए।
श्रेष्ठको शालिक राप्ती राजमार्ग अन्तर्गत जिल्लाको शारदा नगरपालिका–१ श्रीनगर बजारको शिरान अर्थात् रूकुम चोक (रूकुम जाने बाटो) को बीचमा स्थापना गरिएको छ। शालिक स्थापना भएपछि चोकको नाम पनि (मौखिक रूपमा) मरिचमान चोक नामकरण गरिएको छ।
शालिक स्थापना कार्य सल्यान युवा सञ्जालको सक्रियतामा पूरा भएको हो। त्यसको अध्यक्ष सुदर्शन बुढाथोकी छन्। पूर्वप्रधानमन्त्री श्रेष्ठको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको एक अभियानी युवराज खड्काले बताए। खड्का शालिक निर्माण समितिका संयोजक पनि हुन्।
स्वर्गीय पूर्वप्रधानमन्त्री श्रेष्ठको शालिक जिल्लाकै बागचौरका टोपेन्द्र डाँगीले निर्माण गरी निःशुल्क प्रदान गरेका थिए। डाँगीले 'टोपेन्द्र कला केन्द्र' सञ्चालन गर्दै आइरहेका छन्।
शालिक निर्माणसँगै मरिचमानसिंह श्रेष्ठ फाउन्डेसन स्थापना गरी खलंगामा पुस्तकालय स्थापना गरिने भएको छ।
यो अभियानका एक जना सदस्य हरिबहादुर बुढाथोकीले सल्यानको माटोमा जन्मिएर मुलुकको बागडोर सम्हाल्न सफल श्रेष्ठ आफ्नै जन्मभूमिमा गुमनाम नबनून् र उनको योगदान पछिल्लो पुस्ताले पनि थाहा पाऊन् भन्ने उद्देश्यले शालिक निर्माण गरिएको बताए।
मरिचमानका जेठा छोरा अनिलसिंह श्रेष्ठले बुबाको सम्मानका साथ जिल्लावासीले शालिक स्थापना गरेको सुन्दा खुसी लागेको सेतोपाटीलाई बताए।
मरिचमानकी धर्मपत्नी ८६ वर्षीया विष्णुकुमारी भने डिमेन्सियाका कारण गम्भीर बिरामी भएको र बोल्न नसक्ने अवस्थामा रहेको उनले बताए।
उनकी एक्ली छोरी रस्मी निरौलाले आफ्ना स्वर्गीय बुबाको शालिक निर्माण गरी अनावरण गर्न लागेकोमा खुसी साट्दै अमेरिकाबाट पठाएको भिडिओ सन्देश समारोहमा सुनाइएको थियो।
माइला छोरा सञ्जय जापानमा र कान्छा छोरा रञ्जन अमेरिकामा बस्दै आएका छन्।
शालिक अनावरण कार्यक्रमलाई नेपाली कांग्रेसबाट निर्वाचित शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले संक्षिप्त सम्बोधन गरे।


सल्यानमा जन्मिएर मुलुकको सर्वोच्च पदमा पुग्न सफल मरिचमानको शालिक निर्माण हुनु निकै सकारात्मक र सुखद पक्ष मान्नुपर्ने भन्दै उनले युवा अभियानीहरूलाई धन्यवाद दिए।
सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश मल्लले पनि भावनात्मक हिसाबले शालिक स्थापना हुनु सकारात्मक पक्ष मान्नुपर्ने बताए।
'सल्यानमा जन्मिएर शिक्षक हुँदै मुलुकको प्रधानमन्त्री बन्नु चानचुने कुरा होइन,' उनले भने, 'त्यस्ता व्यक्तिको जिल्लावासीले भावनात्मक हिसाबले शालिक स्थापना गर्नु ठीकै हो।'
नेकपा (एमाले) का जिल्ला उपसचिव गणेशमान सिंहले जिल्लावासी पूर्वप्रधानमन्त्रीलाई शालिक निर्माण गरी सम्झिनुलाई नराम्रो मान्न नहुने बताए।
'कतिपयले यसलाई योजनाबद्ध रूपमा भोटको राजनीति गर्न खोजेका छन्। त्यो गलत हो,' उनले भने।
