राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठौँ महाधिवेशनमा ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव अघि बढाएको छ।
पार्टीले हाल कायम विधान संशोधन गरी ४० वर्षमुनिका १० पुरूष र १० महिला गरी २० जना युवालाई महाधिवेशनबाटै निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरेको एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
राप्रपाले यसअघि ‘नवीन राप्रपा’ कार्ययोजना ल्याएर खुला प्रतिस्पर्धामार्फत ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा प्रवेश गराएको थियो।
यसपटक भने विधानमै व्यवस्था गरेर युवालाई नेतृत्व तहमा सहभागी गराउने र पार्टीप्रति युवा आकर्षण बढाउने नीति राप्रपाले अघि सारेको हो।
‘यस विषयमा छलफल भएको छ। हामीले संशोधित विधानमा त्यसैगरी प्रस्ताव अघि बढाउँदैछौँ,’ ती पदाधिकारीले भने।
राप्रपाको आठौँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। राप्रपा महाधिवेशनमा ४ हजार बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।