एपेक सम्मेलनमा सहभागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी चिनफिङको भाषण सुनिरहेका बेला निद्रामा झुलेको देखिएका छन्।
चीनको सेन्जेनमा बिहीबार आयोजित सम्मेलनमा सीले एसिया–प्रशान्त क्षेत्रबारे चीनको धारणा राखिरहेका बेला ट्रम्पले पटकपटक आँखा बन्द गरेको दृश्य प्रत्यक्ष प्रसारणमा देखिएको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले ट्रम्प झुलेको भिडिओ फुटेज सार्वजनिक गरेको छ।
सीले चिनियाँ भाषामा गरेको सम्बोधनलाई ट्रान्सलेटरले अंग्रेजीमा उल्था गरेर सुनाएका थिए। त्यस क्रममा ट्रम्प निद्रामा झुल्दै गरेको दृश्य सार्वजनिक भएको हो।
सी बोल्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने ध्यान दिएर सुनिरहेका थिए भनेर साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र हङकङका नेता जोन लीले सीले भाषण क्रममा भनेका मुख्य कुराहरू टिपोट समेत गरिरहेका थिए।
जापानकी प्रधानमन्त्री सनाई ताकाइची भने सीको सम्बोधनका केही अंश सुन्दा मुस्कुराइरहेकी थिइन्।
८० वर्षीय ट्रम्पको सार्वजनिक कार्यक्रममा निदाएको जस्तो देखिएको यो दृश्यलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चासोका साथ प्रसारण प्रकाशन गरेका छन्।
कुनै पनि सार्वजनिक कार्यक्रममा ट्रम्प झुलेको यो पहिलो घटना होइन। उनीमाथि संसदीय सुनुवाइदेखि मन्त्रिपरिषद् बैठकमै निदाउँछन् भन्ने आरोप छ।
यसअघि अप्रिलमा ह्वाइट हाउसको एउटा कार्यक्रममा ट्रम्प निदाएको देखिने तस्बिर सामाजिक सञ्जालमा फैलिएको थियो।
तर फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार उक्त तस्बिर वास्तविक थिएन। एक ग्राफिक कलाकारले व्यङ्ग्यका रूपमा बनाएको तस्बिरलाई वास्तविक भन्दै फैलाइएको थियो।
ट्रम्प पछिल्ला तीन दिनदेखि व्यस्त कूटनीतिक भ्रमणमा छन्।
उनी मंगलबार फिलिपिन्सको राजधानी मनिला पुगेका थिए।
त्यहाँ आसियान सम्मेलनमा सहभागी भएपछि बुधबार चीन पुगेका थिए। विमानस्थलमा सीले उनलाई स्वागत गरेका थिए। बुधबार साँझ उनले चिनियाँ राष्ट्रपतिले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागिता जनाएका थिए।
बिहीबार बिहान साढे ९ बजेअघि नै ट्रम्पको सवारी टोली एपेक सम्मेलनस्थलतर्फ लागेको थियो।
अत्यधिक व्यस्तताका कारण उनी थाकेको हुन सक्ने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
यद्यपि ट्रम्पको स्वास्थ्यलाई लिएर विभिन्न टीकाटिप्पणी हुँदै आए पनि उनी आफै भने पूर्ण रूपमा स्वस्थ रहेको दाबी गर्दै आएका छन्।