नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरूत्साही नहुन पार्टी कार्यकतालाई आग्रह गरेकी छन्।
राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएकी हुन्।
उनले भनिन्, ‘गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्काले नेता तथा कार्यकर्तामा केही निराशा उत्पन्न गरेको हुन सक्दछ। तर यस सन्दर्भमा म के कुरा स्मरण गराउन चाहन्छु भने अनेकौँ हन्डर, ठक्कर र धक्कासँगै हामीले आन्दोलनलाई जोगाएर मात्र राखेनौँ, यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित गर्यौं, साथै लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा पार्टीलाई विकास गर्न सफल भयौँ, यो हाम्रो गौरवशाली इतिहास हो। त्यसैले अहिलेको परिस्थितिबाट हतोत्साहित हुनुपर्ने कुनै कारण छैन। विगतका सङ्घर्ष र सफलताबाट प्रेरणा लिँदै वर्तमानका चुनौतीको सामना गर्न हामीले अझ बढी सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्दछ।’
गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणामले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने बताइन्। तर विगतका संघर्षबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ।
उनले पार्टीको विगतको संघर्ष स्मरण गर्दै पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले बेहोरेको संकट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत एमालेले आफ्नो राजनीतिक यात्रा जारी राखेको उल्लेख गरिन्।
उनले आगामी चुनौतीलाई सामना गर्न संगठनलाई सुदृढ, एकताबद्ध र गतिशील बनाउनुपर्ने बताइन्।
नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा पार्टीका सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ।
हालको निर्वाचन परिणाम अस्थायी धक्का रहेको उल्लेख गर्दै उनले आगामी दिनमा सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ जनताको विश्वास जित्नुपर्ने बताइन्।
उनले कार्यकर्तालाई निराश नभई सक्रिय र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन्।
राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने उनको भनाइ छ।
उनले आफू कुनै पदप्राप्तिको लागि राजनीतिमा सक्रिय नभएको पनि बताइन्।
कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई बलियो शक्तिका रूपमा विकास गर्न आफू सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल