इनम सापकोटाको अनुसन्धानको क्रममा पक्राउ परेका महेश श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चको प्रशासनले उनको रिट दरपीठ गर्ने निर्णयविरूद्ध श्रेष्ठले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।
‘रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा, मिसिल कागज हेरी इजलासबाटै निरूपण हुन उपयुक्त देखिएकाले बन्दी प्रत्यक्षीकरणको दर्ता गर्न ल्याएको रिट निवेदन दर्ता गर्न इन्कार गरी दरपीठ गरेको मंसिर २ गतेको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ।
श्रेष्ठ व्यवसायी हुन्। उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन्।
सापकोटासँग आर्थिक कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।