नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्।
‘विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ’, उनले लेखेका छन्।
प्रचण्डले शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्रै सीमित नरहेको उल्लेख गर्दै पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु पनि यसको उद्देश्य भएको बताएका छन्।
उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन्।
२०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको प्रचण्डले स्मरण गरेका छन्।
उनले उक्त सम्झौतालाई दुई पक्षबीचको सहमतिमा मात्रै सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट बनेको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरेका छन्।
शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता उपलब्धि हासिल भएको उनको भनाइ छ।
प्रचण्डले शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित र आम नेपाली जनताप्रति सम्मानसमेत व्यक्त गरेका छन्।
‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो’, उनले लेखेका छन्।