नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न नहुने बताएका छन्।
शनिबार भक्तपुरमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले संविधान र कानुनले तोकेको कार्यकालअनुसार स्थानीय र प्रदेशको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने बताएका हुन्।
'सायद कतिपयलाई के लागेको हुनसक्छ भने दुईटै चुनाव एकैपटक गर्यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने लागेको होला। त्यसो हुनेवाला छैन,' उनले भने।
प्रचण्डले तथाकथित नयाँ भन्नेहरूको स्थानीय तहमा त्यति धेरै आधार बनिनसकेको भन्दै उनीहरू चुनावको विषयमा आत्तिएको हुन सक्ने बताए।
'स्थानीय निर्वाचन तथाकथित नयाँ भन्नेहरूको त्यति धेरै आधार बनिसकेको छैन। उनीहरू तर्सेका हुन सक्छन्। त्यसकारण उनीहरू संविधान मिचिए मिचियोस् भन्न पनि सक्छन्। हामी सतर्क हुनुपर्छ,' उनले भने।
उनले प्रदेश र स्थानीय तहको चुनाव संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने बताए।
स्थानीय सरकारको कार्यकाल पाँच वर्ष हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले जेठ ५ गतेसम्म स्थानीय सरकारको कार्यकाल रहेकाले त्यही मितिलाई केन्द्रमा राखेर चुनाव गर्नुपर्ने बताए।
'स्थानीय सरकारको कार्यावधि पाँच वर्षको हुनेछ। पाँच वर्ष पूरा काम गर्ने अधिकार राख्छ उसले। त्यसो हुँदा जेठ ५ गतेसम्म स्थानीय सरकारको कार्यावधि छ। त्यसकारण जेठ ५ लाई केन्द्रबिन्दुमा राखेरै स्थानीय तहको चुनाव गरिनुपर्छ,' उनले भने।
प्रदेश सरकारको कार्यकाल पनि मंसिरको पहिलो हप्तासम्म रहेकाले त्यसको चुनाव पनि संविधान र कानुनको व्यवस्थाअनुसार नै हुनुपर्ने उनको भनाइ छ।
यसअघि शुक्रबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा पनि आफूले यही धारणा राखेको उनले बताए। संविधान र कानुन मिचेर चुनाव गर्न खोजिए देश दुर्घटनामा जान सक्ने उनको चेतावनी थियो।
'एक ठाउँमा फेरि संविधान मिचियो, कानुन मिचियो भने प्रतिक्रान्तिकारीहरूलाई के अवसर प्राप्त हुन्छ भने कानुन मिचिसकियो, अब संसदको पनि काम छैन, संविधानको पनि काम छैन भनेर फेरि दुर्घटना घटाउने खतरा छ,' उनले भने।
निर्वाचन आयोग पनि स्थानीय र प्रदेशको चुनाव दुईपटक गर्नु नै संविधान र कानुनसम्मत हुनेमा स्पष्ट देखिएको प्रचण्डले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सर्वदलीय छलफल फेरि राखेर त्यसपछि निर्वाचन आयोगलाई अन्तिम धारणा दिने बताएको पनि उनले जानकारी दिए।
प्रचण्डले स्थानीय तहको चुनाव पहिले गर्नुपर्नेमा जोड दिँदै कार्यकर्तालाई यस विषयमा पार्टीका कार्यक्रममा पनि आवाज उठाउन आग्रह गरे।