नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तहको चुनावमा अन्य दलसँग सहकार्य गर्न चाहेको बताएका छन्।
शनिबार भक्तपुरमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले मुद्दा मिल्न दलहरूसँग सहकार्य गर्ने पार्टीको चाहना रहेको बताएका हुन्।
'स्थानीय निर्वाचनमा हामी सहकार्य गर्न चाहन्छौं। हामीसँग मूलभूत रूपमा विचार मिल्ने, मुद्दा मिल्नेहरूसँग, मुख्यतः वामपन्थीहरूसँग,' उनले भने।
उनले एमाले र मसालसँग कार्यगत एकता गर्ने सहमति भइसकेको पनि बताए।
‘यो पटक नयाँ सोच्दैछु,’ उनले भने।
स्थानीय तहको चुनावमा उम्मेदवार छनोटको जिम्मा भने सम्बन्धित पालिकालाई नै दिनुपर्ने उनको भनाइ छ।
यसपटक माथिबाट टिकट दिने परिपाटी बदल्ने सोच बनाएको उनले बताए।
'अहिले हामीले माथिबाट टीका लगाएर टिकट दिनुभन्दा तलबाट पालिकाले नै निर्णय गर्नुस्, कसलाई टिकट दिने, कसलाई जिताउने भनेर,' उनले भने।
माथिबाट उम्मेदवार तोक्ने पद्धतिले पार्टीमा अनुशासन कायम गर्न र चुनाव जित्नसमेत कठिन भएको उनले बताए।
'माथिबाट टीका लगाउने पद्धतिले चाहिँ अनुशासन कायम गर्न पनि सकिएन, जित हासिल गर्न पनि गाह्रो भयो। त्यसकारण तपाईंहरू अहिलेदेखि नै तयारी गर्नुस्,' उनले कार्यकर्तालाई भने।
उनले कुन दलसँग सहकार्य गर्ने र नगर्ने भन्ने नीतिगत निर्णय पार्टीले गर्ने तर उम्मेदवार कसलाई बनाउने र कसलाई जिताउने भन्ने निर्णय स्थानीय तहमै गर्न उनले कार्यकर्तालाई आग्रह गरे।