मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण सुरु भएको छ।
लामो समयपछि निर्माणको काम सुरु भए पनि केही राजनीतिक दल र व्यक्तिले आफ्नै पहलमा पुल बन्न लागेको भन्दै श्रेय लिन थालेपछि स्थानीय भने चकित परेका छन्।
स्थानीय बुद्धिमाया मगरले पुल निर्माणको काम अघि बढेपछि त्यसको श्रेय लिन राजनीतिक दल र व्यक्तिबीच होड चलेको बताइन्। विगतमा पुल नहुँदा खोला वारपार गर्न निकै कठिन हुने गरेको स्मरण गर्दै उनले पुल नबन्दा एक जनाको लडेर मृत्यु भएको र केही घाइते भएको बताइन्।
लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीय निर्माण सुरु भएपछि खुसी भएका छन्। धरान उपमहानगरपालिका–८ विकास संस्थाका अध्यक्ष सुभास श्रेष्ठले पुल भत्किएको तीन वर्षपछि निर्माण सुरु भएपछि अब बन्ने आशा पलाएको बताए।
स्थानीय, पालिका र प्रदेश सरकारको पहलमा संघीय सरकारले बजेट विनियोजन गरेपछि पुल निर्माणको काम अघि बढेको हो। निर्माणको ठेक्का पाएको श्री ओम सुजल जेभीले शुक्रबारदेखि काम सुरु गरेको छ। कम्पनीका साइट इन्जिनियर रामबाबु शाहले पुलको जग खन्ने काम सुरु भएको र मौसमले साथ दिए नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने बताए।
मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार १५ मिटर लामो पुल निर्माणका लागि ६ करोड ३ लाख ७ हजार रुपैयाँमा सम्झौता भएको छ।
यसअघि २०८० चैतमा निर्माण गरिएको उक्त पुल २०८१ साउन २२ गते राति आएको बाढीले भत्काएको थियो। त्यसपछि नयाँ पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य थिए।
स्थानीय लीलामाया तामाङका अनुसार पुल नबन्दा राम सुनुवारको लडेर मृत्यु भएको थियो। मोटरसाइकल, स्कुटर र सिटी सफारी दुर्घटना हुँदा १५ जनाभन्दा बढी घाइते भइसकेका छन्। पछिल्लो समय धरान बजारको फोहोर पानीसमेत यही खहरेमा मिसिने गरेको छ।
चुनावका बेला विभिन्न राजनीतिक दल र उम्मेदवारले पुल बनाउने आश्वासन दिएर भोट मागे पनि निर्वाचित भएपछि चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन्।
“बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ। कहिले बन्ला भन्ने आशामा थियौँ। बल्ल निर्माण सुरु भयो, खुसी लागेको छ,” तामाङले भनिन्।
स्थानीयका अनुसार विसं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन उक्त पुल निर्माण गरिएको थियो। मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गरिएकाले संरचना कमजोर भएर भत्किएको थियो।
पुल समयमा निर्माण नहुँदा वर्षायाममा खोलामा आउने बाढीले आसपासका २०० भन्दा बढी घर बाढी र कटानको जोखिममा छन्।