नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवामाथि ज्यान मार्ने प्रयास भएको दाबी गरेका छन्।
आफूहरू नेपाली सेनाको सहयोग र उपचारका कारण बाँच्न सफल भएको बताउँदै उनले घटनालाई योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएका छन्।
नेपाली कांग्रेस देउवा पक्षले गण्डकी प्रदेशमा आयोजना गरेको अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफ्नो निवासमा भएको आक्रमणपछि नेपाली सेनाले हेलिकप्टर अवतरण गराउन नसकेको र आफूहरूलाई गाडीमार्फत सैनिक क्याम्प पुर्याइएको बताए।
त्यहाँस्थित सैनिक अस्पतालमा उपचार गराएपछि आफू र पत्नीको ज्यान जोगिएको उनको भनाइ थियो।
आन्दोलनका बेला आफूहरूलाई चिन्ने कतिपय साथीले समेत घर नआउन आग्रह गरेको स्मरण गर्दै देउवाले भने, ‘आर्मीले गाडी पठाएर आर्मी क्याम्प बस्यौं। आर्मी अस्पतालमा मेरो श्रीमती र मेरो उपचार गरेर बाँचेका हौं।’
उनले जेनजी आन्दोलनका क्रममा आफूलाई बचाउन आन्दोलनमा सहभागी युवाहरूको भूमिका रहेको पनि बताए। तर, आफूहरूमाथि भएको आक्रमणमा जेनजीको नाममा ५० वर्ष उमेरका व्यक्तिहरू पनि लाठी बोकेर आएको उनको दाबी थियो।
‘जेनजीले मलाई बचाएको हो। बच्चाहरूले बचाएका हुन्। फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए। धेरै ठूलो षड्यन्त्र थियो।’
२०८२ भदौ २४ गते जेनजी प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री देउवा र उनका पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई आक्रमण गरेका थिए । प्रदर्शनकारीले देउवा दम्तीको घर तोडफोड र लुटपाट गरेर जलाएका थिए ।
देउवाले एमाले अध्यक्ष केपी आली त्यतिबेला प्रधानमन्त्री रहेका बेला राजनीतिक नेताहरूका घर, पार्टी कार्यालय र अन्य संरचनामाथि भएका आक्रमणलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने बताए। उनले आफ्नो परिवारसँग सम्बन्धित स्थान र बीपी कोइरालाका परिवारको घरमा समेत आक्रमण भएको उल्लेख गरे।
आन्दोलनका क्रममा नेताहरूका घरमा आगजनी गर्ने र आफूहरूलाई मार्ने प्रयासको पछाडि कोको संलग्न थिए भन्ने स्पष्ट हुँदै गएको उनको दाबी थियो। आफूलाई थुन्ने र मार्ने प्रयासमा संलग्न भएको आरोप लागेका व्यक्तिहरूलाई समेत राजनीतिक दलले टिकट दिएको भन्दै उनले आपत्ति जनाए।
सम्बोधनका क्रममा देउवाले कांग्रेसभित्रको विशेष महाधिवेशनको वैधानिकतामाथि पनि प्रश्न उठाए। विशेष महाधिवेशन गर्न विधानले व्यवस्था गरेको भए पनि त्यसका लागि आवश्यक प्रक्रिया र हस्ताक्षरको प्रमाणीकरण हुनुपर्ने उनको तर्क थियो।
उनले कांग्रेसका पूर्वसभापति सुवर्णशमशेर राणाले पनि विशेष महाधिवेशन आयोजना गरेको ऐतिहासिक प्रसंग उल्लेख गर्दै त्यसबेला ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक हुने व्यवस्था रहेको बताए। तर, अहिलेको विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरू कहाँबाट निर्वाचित भएका हुन् र उनीहरूको हस्ताक्षर वास्तविक हो कि होइन भन्ने विषयमा प्रश्न उठाए।
‘विशेष महाधिवेशन गर्न पाइन्छ। सुवर्णशमशेरले गर्नुभएको हो। सभापति हुनुहुन्थ्यो त्यो बेला,’ उनले भने, ‘सभापतिलाई दिनुपर्छ। तर, विशेष महाधिवेशनका व्यक्तिहरू यी हुन् कि होइनन्, कहाँबाट निर्वाचित भए, सनाखत र हस्ताक्षर के हो भन्ने हेर्नुपर्छ।’
विशेष महाधिवेशनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भएको देउवाको आरोप थियो। उपचारका लागि सिंगापुर जानुपरेको प्रसंग उल्लेख गर्दै उनले आफूले पार्टी र मुलुकका लागि अझै योगदान गर्न चाहेको बताए।
पाँचपटक प्रधानमन्त्री भइसकेको र राजनीतिमा लामो समय बिताएको उल्लेख गर्दै देउवाले अब आफूलाई व्यक्तिगत रूपमा केही प्राप्त गर्न बाँकी नरहेको बताए। उनले आफ्नो बाँकी जीवन लोकतन्त्र र गणतन्त्रलाई थप मजबुत बनाउन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘मलाई केही चाहिएको छैन, मैले पाइसकेको छु। पाँच पटक प्रधानमन्त्री भएँ,’ उनले भने, ‘देशलाई दिनुछ, राष्ट्रलाई दिनुछ, लोकतन्त्रलाई अझ मजबुत गर्नुछ, गणतन्त्रलाई अझ मजबुत गर्नुछ।’
आफू किशोरावस्थादेखि नै राजनीतिक आन्दोलनमा संलग्न भएको र जेल जीवनसमेत बिताएको स्मरण गर्दै देउवाले कांग्रेसले आफूलाई पटकपटक प्रधानमन्त्री बनाएको भन्दै पार्टीप्रति आफ्नो दायित्व रहेको बताए। उनले जीवनभर राष्ट्र र लोकतन्त्रका लागि समर्पित रहने आफ्नो उद्देश्य रहेको उल्लेख गरे।