नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई विनाकारण १३ दिन हिरासतमा राखेर ‘राक्षसी राज’ चलाएको आरोप लगाएका छन्। यस्तो शासन निरन्तर चलाउन खोजे एमालेका युवा कार्यकर्ता चुप लागेर नबस्ने उनको चेतावनी छ।
एमालेको जनवर्गीय संगठन नेशनल भोलिन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा बोल्दै ओलीले आफूलाई गिरफ्तार गरेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले दमन गरेको आरोप लगाए।
‘१३ दिन किन थुनेको? जंगली राज हो यो? मनपरीतन्त्र चलाउन पाउने ठाउँ हो? १३ दिन पूर्वप्रधानमन्त्री भइसकेको एउटा पार्टी अध्यक्षलाई, जसले ६० वर्ष यस देशका लागि काम गरेको छ, जेलनेल सहेको छ, यातना सहेको छ, त्यस्तो नेतालाई अकारण गिरफ्तार गरेर हिरासतमा किन लियो? यो जंगली राज मात्रै होइन, राक्षसी राज भयो,’ उनले भने।
ओलीले आफूलाई हिरासतमा राखे पनि पछि सरकारले मुद्दा चलाउन नसकेको दाबी गरे। आफू पक्राउ परेपछि सडकमा निस्किएका युवामाथि लाठी प्रहार गरिएको र अपमानजनक व्यवहार गरिएको उनको आरोप थियो।
‘यदि राक्षसी राज सधैँ चलाउन खोज्छ भने अब नेपाली जनता, अब युवाहरू, अब नेशनल युथ फोर्स चुप लागेर बस्दैन,’ उनले भने।
नेशनल भोलिन्टियर्स फोर्स शान्तिपूर्ण संगठन भएको बताउँदै ओलीले आफूहरू भिडन्त खोज्दै नहिँड्ने तर कसैले आक्रमण गरे प्रतिवाद गर्ने बताए।
‘नेशनल भोलिन्टियर्स फोर्स देखाउनका लागि मात्रै होइन, यो कामका लागि हो, परिवर्तनका लागि हो। यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो। हामी निहुँ खोज्न जाँदैनौँ, हामी कहिल्यै भिडन्त खोज्दैनौँ। तर हामीमाथि प्रहार गर्यो भने फर्काउन बाध्य हुने अवस्था आउँछ,’ उनले भने।
उनले नेशनल युथ फोर्सलाई संगठन विस्तारसँगै देशव्यापी रूपमा सुदृढ बनाउन निर्देशन पनि दिए। देशमा हुने बेथिति र गलत गतिविधिविरुद्ध खबरदारी गर्न फोर्स सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
(न्युज एजेन्सी नेपाल)