प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ।
सोमबार नयाँदिल्लीमा दुई देशबीच अन्तरिक्ष प्रविधि, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, सहरी विकास, आयुर्वेद, पशुपालन, अपराध अनुसन्धान र प्रहरी प्रशिक्षणका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएका हुन्।
पहिलो समझदारीपत्र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भूउपग्रहको उपयोगका लागि भूउपग्रहमा आधारित सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा रहेको छ।
दोस्रो समझदारीपत्र नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच छ।
यी दुई समझदारीपत्र नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले आदानप्रदान गरेका थिए।
तेस्रो समझदारीपत्र स्वास्थ्य तथा चिकित्साका क्षेत्रमा सहकार्य गर्न भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच भएको छ।
चौथो समझदारीपत्र दिगो सहरी विकास क्षेत्रमा प्राविधिक सहकार्य गर्न दुई सरकारबीच भएको हो।
यी दुई समझदारीपत्र नेपालका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले आदानप्रदान गरेका थिए।
पाँचौं समझदारी आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्य गर्न दुई सरकारबीच भएको छ। यसलाई नेपालका तर्फबाट मुख्यसचिव कार्की र भारतका तर्फबाट आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले आदानप्रदान गरेका थिए।
छैटौं समझदारी पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा भएको छ।
सातौं समझदारी भारतको गुजरातस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने विषयमा भएको छ।
आठौं समझदारीपत्र भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच आदानप्रदान भएको छ।
यी तीन समझदारीपत्र नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डे र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आदानप्रदान गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने औपचारिक भ्रमण क्रममा भारतमा छन्। सोमबार नयाँ दिल्लीमा शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।