चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।
वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन्।
निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैंडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैंडा मृतावस्थामा भेटिएको हो।
भाले गैंडा दुई वर्ष छ महिनाको रहेको उनले जानकारी दिए।
उनका अनुसार दुवै गैंडा प्राकृतिक कारणले मरेका हुन्।
मृत भेटिएका गैंडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए।
उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैँडाको सङ्ख्या १८ पुगेको छ।