‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरू बागमती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरूपमै जरिवाना गरिएको छ।
बागमती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामंगल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई १०-१० हजार गरी २० हजार रुपैयाँ जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले राससलाई जानकारी दिए।
काठमाडौं महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ।
महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए। सफाइ महाअभियानले काठमाडौं उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
विसं २०७० जेठ ५ देखि सुरू भएको बागमती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ। आज सफाइ महाअभियानका ५२२औं हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो। सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ।