विद्युतको मिटर-बक्सबाट सल्किएको आगोले खोटाङको दिक्तेल, रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आइतबार दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात लगायतका धनमाल पूर्ण रूपमा जलेर नष्ट भएको हो।
ढुंगा/माटोले बनेको जस्तापाताको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा ३२ लाख रूपैयाँभन्दा बढीको धनमाल पूर्ण रूपमा जलेर क्षति भएको घटनास्थलमा पुगेका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिए।
मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए।
'दिउँसो करिब दुई बजेको समयमा मिटर-बक्सबाट आगो लाग्न सुरू भएको रहेछ। छरछिमेक जम्मा हुँदा आधाजति जलिसकेको थियो,' उनले भने, 'दन्किरहेको आगो तत्कालै नियन्त्रण गर्ने कुनै उपकरण थिएन। घरायसी उपकरण प्रयोग गरेर तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भयो।'
दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब पाँच घन्टापछि मात्र नियन्त्रणमा लिन सफल भएको स्थानीय समाजसेवी हर्कराज राईले जानकारी दिए।
आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार हातमा लिएर घटनास्थल पुगेका थिए।
वृद्ध भइसकेका श्रीमान र श्रीमती दुई जना मात्रै बस्दै आएको घर तथा सबै सामान जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन्। खार्मीमा भएको आगलागी पीडित मगर परिवारलाई भोलि (सोमबार) जिल्ला विपद व्यवस्थापन समितिका टोलीसहित घटनास्थलमै पुगेर राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए।
तत्कालका लागि व्यवस्थापन तथा संयोजन गर्न वडा कार्यालयलाई भनिएको नगरपालिकाले जनाएको छ। आगलागी पीडित मगर दम्पतीलाई तत्कालका लागि सोही स्थानका राजकुमार राईको घरमा खाने र बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए।