नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो गएको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन।
सुख्खा पहिरोसँगै ढुंगा खसिरहेकाले शुक्रबार बिहानदेखि मात्र पहिरो पन्छाइने भएको छ। यसले रातभरि सडक अवरूद्ध हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
उनका अनुसार ढुंगा खसिरहेकाले बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम सुरू गरिने भएको छ। पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका छन्।
प्रहरी चौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा लाग्दा घाइते भएका हुन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दिउँसो १३ः२० बजेदेखि सडक अवरूद्ध भएको हो। सडक अवरूद्ध भएसँगै सवारी साधन अलपत्र परेका छन्।