ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुंगिएको छ।
ललितपुर बार एसोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहवरमा बिहीबार दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको हो। सहमतिपछि जारी सूचनामा सबै विरोध कार्यक्रम स्थगन गरिएको जनाइएको छ।
अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई अभद्र व्यवहार कसुरमा नियन्त्रणमा लिइएको थियो।
ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले लामिछानेलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको जानकारी दिए।
उक्त घटनाको विरोधमा वकिल तथा कर्मचारी आन्दोलित भएका थिए। उनीहरूबीच बिहीबार भएको सहमतिपत्रमा अदालतमा सेवा लिने–दिने क्रममा हुन गएको घटनाबारे विभिन्न कार्यक्रम र विज्ञप्तिमार्फत विषयान्तर भएको महसुस भएकाले द्वेषभाव नराखी विवाद अन्त्य गरेर आ–आफ्नो सेवामा खटिने उल्लेख छ।
सहमतिपत्रमा ललितपुर जिल्ला अदालतको सिसिटिभी अविलम्ब मर्मतका लागि अनुरोध गर्ने, नेपाल बार एसोसिएसन र निजामती कर्मचारीबाट घोषित विरोध कार्यक्रम बिहीबारैदेखि स्थगन गरी सेवा सञ्चालन गर्ने पनि सहमति बनेको छ।
त्यस्तै सहमतिपत्रमा ललितपुर जिल्ला अदालत र बार एसोसिएसनबीचको सम्बन्ध सुमधुर राखी निरन्तरता दिँदै यसबीच सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षममायाचना गरिएको छ। घटना यही असार १३ गते भएको थियो।
यो पनि हेर्नुहोस्: