संक्रमण भन्नासाथ ब्याक्टेरिया वा किटाणुले गर्दा हुन्छ। धेरैजसो पिसाबको संक्रमण आन्द्रामा भएको किटाणुले गर्दा हुन्छ। दिसामा हुने किटाणु पिसाब वा पिसाब नलीमा कसरी छिर्यो भन्ने पहिला बुझ्नुपर्छ।
विशेष गरेर छोरी बच्चाहरूको दिसा गर्ने ठाँउ र पिसाब गर्ने ठाँउ नजिकै हुन्छ। त्यसैले छोरा बच्चाहरूमा भन्दा छोरी बच्चाहरूमा पिसाबको संक्रमण हुने सम्भावना रहन्छ।
डाइपर लगाउने बच्चाहरूको पिसाब फेर्ने ठाउँमा किटाणु छिर्न सक्छ। त्यसले गर्दा पिसाब नली, पिसाब थैली वा कहिलेकाहीँ किड्नीसम्म पनि पिसाबको संक्रमण हुन सक्छ।
छोरा बच्चाहरूमा पिसाब फेर्ने ठाउँको छाला राम्रोसँग नखुल्दा समस्या आउन सक्छ। त्यसैले पिसाब आउने बाटो खुला हुनुपर्छ। यो प्वाल राम्रोसँग नखुल्दा पिसाबको संक्रमण हुनसक्छ।
अर्को कारण भनेको पर्याप्त पानी नपिउनु हो। नियमित पानी खाने अनि पिसाब फेर्ने भयो भने किटाणु धेरै फस्टाउन पाउँदैन। बच्चाहरूले पानी कम खायो भने पिसाब बाक्लो हुन्छ। त्यस्तै पिसाबको फ्लस राम्रोसँग भएन भने पिसाबको संक्रमण हुन्छ।
बच्चाहरूले पानी यति नै खानुपर्छ भन्ने छैन। जस्तो गर्मी हुने ठाउँमा पानी धेरै खानुपर्छ। भने त्यही अनुसार जाडो हुने ठाउँमा खानु पर्छ भन्ने छैन। सामान्यताया, बच्चाहरूले ४ देखि ६ गिलास पानी खानुपर्छ। पानी पर्याप्त भयो भने पिसाबको संक्रमण हुने खतरा कम हुन्छ।
आफूलाई पिसाबको समस्या भएको बच्चाहरूले थाहा पाउँदैनन्। त्यसैले उनीहरूले गर्ने व्यवहारबाट थाहा हुन्छ। पिसाब फेर्दा रूने, छटपटी गर्ने, सामान्यभन्दा धेरै रूने, कति बच्चाले खान नमान्ने हुन्छ। एक वर्षभन्दा सानो बच्चाले खान नमान्ने, ज्वरो आउने हुन्छ। अलि बोल्न नसक्ने बच्चाले पिसाब पोल्यो भन्ने, बारम्बार पिसाब फेर्ने ठाउँमा हात लैजाने हुन्छ। कतिपय पिसाबको संक्रमण जन्मजात पनि हुन्छ।
यदि पिसाबको संक्रमण भएको शंका लागेको छ भने साधारण पिसाबको जाँच गरेर थाहा पाउन सकिन्छ। त्यसको आधारमा उपचार गर्नुपर्छ।
सानो बच्चाहरूले दिनमा ६ देखि ८ पटक पिसाब फेर्ने चलन छ। कतिपय बच्चाहरूले थोरै पटक पिसाब गर्न सक्छन्। तर चार पटकसम्म पिसाब गरे पनि पुग्छ। पिसाबमा समस्या आयो भनेर जथाभावी औषधि खुवाउन हुँदैन। यदि लापरबाही गरियो भने त्यसले किड्नीलाई समेत समस्या पार्न सक्छ।
(बाल शल्यचिकित्सक डा. नृपेश राजभण्डारी नर्भिक अस्पताल र इशान बाल तथा महिला अस्पतालमा कार्यरत छन्।)