काठमाडौं जिल्ला अदालतले चैत १५ गते तीनकुनेमा भएको घटनामा १० जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
बुधबार न्यायाधीश पदमराज पाण्डेयको इजलासले आपराधिक उपद्रव कसुरमा १० जनालाई पुर्पक्षको लागि धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
प्रतिवादीहरू श्रवनकुमार लामा र समिर मगरलाई ७० हजार रुपैयाँ धरौटी माग गरेको छ।
रविरंजनकुमार सिंह, आशिककुमार महतो र प्रेमकुमार महतोलाई ३५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवसँग २० हजार रुपैयाँ माग भएको हो।
एलिसा राई भन्ने लक्ष्मी राई र दिनेश महतोसँग १० हजार रुपैयाँ धरौटी माग भएको सूचना अधिकारी श्रेष्ठले बताए।
सरकारी वकिलको कार्यालय काठमाडौंले आपराधिक उपद्रव कसुरमा ११ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।
उनीहरूमध्ये एक जना भने उपस्थित भएका छैनन्। निर्मला कार्की भने हाजिर भएकी छैनन्।
अर्को राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा ५० जनाविरूद्ध मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको थुनछेक बहस सकिएको छैन।