सोमबार साँझ पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले रिहा गरेको छ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको विरोधमा पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले खानलाई नियन्त्रणमा लिएको थियो।
खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन्।
प्रहरीले सार्वजनिक स्थलमा उच्छृङ्खल गतिविधि गरि सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा खानसँगै अर्का अभियानी वाजिउद्दिन मुसलमानलाई पनि पक्राउ गरेको थियो। खानसँगै मुसलमानलाई पनि प्रहरीले रिहा गरेको छ।
खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे लुम्बिनीस्थित पर्सा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
खान केही दिन अघिमात्र नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका पूर्वलुम्बिनी प्रदेश सभा सदस्य फकरुद्दिन खानका सहोदर दाइ हुन्।
पक्राउ परेका खानलाई मंगलबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाइ फकरूद्दिन खानको जिम्मा लगाई प्रहरीले छोडेको हो।
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सहमति जनाएपछि प्रहरीले छोडेको हो।
रिहा भएपछि खानले पत्रकारहरूसँग आफ्नो धारणा सार्वजनिक गर्दै लुम्बिनीको हकहित र विकासका लागि आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए।
यसपटक पनि लुम्बिनीको हितको लागी आन्दोलन गर्दै आएको र पदाधिकारी नियुक्तिको विषयमा यसअघि नै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनले बताए।
लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर नभएपछि बाध्य भएर मन्त्रीको पुत्ला दहन सम्मको आन्दोलन गर्न बाध्य भएको बताए।
संयोजक खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने बताए।